बैतडी – विद्यालयमा कार्यरत रहेका शिक्षकको दरबन्दी काटिएको भन्दै बैतडीको सिगास गाउँपालिका वडा नं. ९ को कार्यालयमा तालाबन्दी गरिएको छ ।
वडा नं. ९ को चुवाँमा रहेको श्री निलपाल आधारभुत विद्यालयमा कार्यरत रहेका शिक्षकको दरबन्दी काटिएको जनाउँदै सम्पूर्ण शिक्षक अविभावक र विद्यार्थी समेतको सहभागीतामा आज वडा कार्यालयमा तालाबन्दी गरिएको विद्यालय स्रोतले जनाएको छ ।
साउन ३० गते वडा नं.९ को कार्यालयमा सर्वपक्षीय बैठक बस्दा सम्म उक्त विद्यालयको कुनै पनि दरबन्दी नकाटिएको गाउँपालिकाको परिपत्र अनुसार कुनै जानकारी नआएको र हाल जानकारी बिना उक्त विद्यालयमा दरबन्दी काटिएकोले कार्यरत शिक्षक, अध्ययनरत विद्यार्थीको भविष्य अन्यौल पूर्ण अवस्थामा पुर्याइएकोले वडा नं. ९ को कार्यालय मार्फत सिगास गाउँपालिकाको कार्यालयलाइ जानकारी नगराइएको भन्दै तालाबन्दी गरिएको हाे । वडा कार्यालयले कुनै सुनुवाई नगरेमा वडा नं. ९ का सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने पनि ज्ञापन पत्रमा भनिएको छ ।
विद्यालयमा कार्यरत शिक्षक, अध्ययनरत विद्यार्थी र अभिभावकले यहि पौष ७ गते देखि पौष १६ गते सम्म चित्त बुझ्दो जवाफ नआएको खण्डमा वडा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका थिए ।