धनगढी: डडेल्धुराको अमरगढी नगरपालिका-७ पोखरा बजारमा एक किशोरीको शवको फेला परेको छ। सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले बताए।
हिजो शुक्रबार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको बुझिएको छ। स्थानीयले बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका गरेका छन्। राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेको स्थानीयको भनाई छ।
तर, प्रहरीले भने अनुसन्धानपछि मात्रै विस्तृत खुल्ने बताइएको छ। प्रहरीले आरतीको शरीरमा कुनै चोटपटक नदेखिएको बताएको छ।
डडेल्धुरा प्रहरीले अनुसन्धानका लागि शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेको छ। तर, उनको परिचय भने खुलाएको छैन।
प्रहरीले आज बिहान शव उठाएर पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाएको छ।
Facebook Comments Box