धनगढी – नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीले नगरपालिकाका नगरप्रमुखलाई ५ बुँदे माग सहित पत्र लेखेको छ। राष्ट्रिय शिक्षक संगठन गोदावरीले माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको समेत दिएको छ। बुधबार गोदावरी नगरपालिकाका नगरप्रमुखलाई खुल्ला पत्र लेख्दै उसले यस्तो चेतावनी दिएको हो। खुल्ला पत्रमा आफुहरुका माग लाई नगरपालिकाले बेवास्ता गरेको आरोप छ।
नगरप्रमुखसँग विस्तृत रुपमा छलफल गर्न चाहेको तर नगरप्रमुखले भेटघाटको अवसर नदिएको खुलापत्रमा उल्लेख गरिएको छ। खुल्ला पत्रमा भनिएको छ, ‘हामी तपाईसँग गोदावरी नगरपालिका भित्रका समग्र शैक्षिक समस्याहरुका बारेमा विस्तृत रुपमा छलफल गर्न चाहन्थ्यौं, तपाइको मान मर्यादाको ख्याल गरेरै तपाईंको कार्यकक्षमा नै हाम्रो प्रतिनिधिमण्डल हार्दिकतापूर्ण र सौहाद वातावरणमा छलफल होस भन्ने चाहन्थ्यौ तर तपाईले भेटघाटको अवसर प्रदान गर्नु भएन। हाम्रो भेटघाट तपाईलाई पाच्य भएन, शिक्षक संगठनलाई उपेक्षाभावले हेर्नु भयो।’
नगरसमितीले खुल्ला पत्रमा बिभिन्न ५ बुँदे माग राखेको छ। विगत ३ वर्ष देखि समयमै तलब प्राप्त गर्दै आएकोमा हाल आएर ३ महिना देखि तलव नपाएको, नगर शिक्षकको तलब वृद्धिको माग गरिएको र उक्त मागलाई व्यवास्था गरिएको खुल्ला पत्रमा उल्लेख छ।
त्यस्तै कक्षा १ देखि ७ सम्मको स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको निमार्ण नभएकाले छिट्टै निर्माण गरिनुपर्ने, नेपाल सरकारले बिद्यालयमा छात्राहरुलाई उपलब्ध गराएको स्यानिटरी प्याडको प्रयोग र व्यवस्थापन हुनुपर्ने र गोदावरी नगरपालिका भित्र १०८ सहजकर्ता कोटा रहेकोमा दर्जनौं विद्यालयमा १ जना पनि सहजकर्ता नभएको तर कुनै एउटा विद्यालयमा ७ ओटा सहजकर्ता रहेको खुला पत्रमा उल्लेख गरिएको छ। शिक्षा क्षेत्रमा सत्तारुपि राजनीतिक छडिको प्रयोग हुन्छ कि भन्ने कुराको घटनाक्रमले पनि संकेत गरेको खुल्ला पत्र उल्लेख गरिएको छ।