काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र ललितपुरले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न सेवा प्रवाहमा समय कार्ड लागू गरेका छन् ।
गुनासो सुन्न प्रमुख जिल्ला अधिकारी आफैँ सक्रिय बनेका छन् । काठमाण्डौमा ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ । अन्य अशक्त, दूधे बालक बोकेका महिलालगायतलाई भने लाइनमा नराखि सेवा प्रवाह गर्ने व्यवस्था छ । अबदेखि प्रशासनको सेवा प्रवाहलाई थप चुस्त बनाउने र नागरिकको सेवा प्रवाह प्रभावकारी हुने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो ।
काठमाण्डौ प्रशासन कार्यालयबाट उपलब्ध हुने विभिन्न १० वटा सेवा प्रवाहका लागि समय तोकिएको र चारवटा सेवामा भने हिजोदेखि समय कार्ड लागू भएको हो । नयाँ नागरिकता, सङ्घ संस्थाको नवीकरण, नाबालक प्रमाणपत्र प्राप्ति र मुद्दाको पेशी तथा तारिखमा समय कार्ड लागू गरिएको हो । नागरिकताका लागि एक घण्टा, संस्था नवीकरणका लागि ३० मिनेट, नाबालक प्रमाणपत्र प्राप्तिका लागि एक घण्टा र मुद्दाको पेशी र तारिखमा ३० मिनेटभित्र सेवा प्रवाह गर्ने गरी समय कार्य तोकिएको छ ।
नयाँ नागरिकतामा मात्रै समय कार्ड लागू भएको तर प्रतिलिपि लिनका लागि भने लागू भएको छैन । कसैले आफ्नो नागरिता बनाउनुपर्यो भने आवश्यक कागजपत्र लिएर प्रशासन गएर बुझाएपछि फाँटका कर्मचारीले हेरेर कागजात पुग्यो भनेको एक घण्टाभित्रमा नागरिकता दिने गरी टाइम कार्ड लागू गरिएको जनाइएको छ ।
तयार भएको राष्ट्रिय परिचयपत्र वितरणमा व्यक्ति सम्बन्धित फाँटमा आएर सम्पर्क गरिसकेपछि ३० मिनेटभित्रमा कार्ड प्राप्त गर्न सक्नेछन् । तयार भएको राहदानी वितरणमा सम्बन्धित फाँटमा पुगेपछि १५ मिनेटभित्रमा दिने गरी समय तोकिएको छ ।
प्रशासनबाट प्राप्त हुने यस्ता सेवामा गुनासो भएमा प्रजिअले शुक्रवारबाहेक अरु वार दिउँसो ३ देखि ४ बजेसम्म गुनासो सुन्ने गरी आवश्यक व्यवस्थापन गरिएको छ । गृह मन्त्रालयले बुधवार ७७ वटै जिल्लामा परिपत्र गरी सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन दिएको थियो ।
ललितपुर प्रशासनले गएको हप्तादेखि नै राहदानी र राष्ट्रिय परिचयपत्रकाे सेवामा समय कार्ड लागू गरिसकेको छ । त्यस्तै भक्तपुर प्रशासन कार्यालयमा लाइन व्यवस्थित गरिएको र अब आवश्यकता अनुसार थप निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।