काठमाडौँ – प्रहरीले दाङबाट २२ तोला सुन र एक लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।
काठमाडौँको चाबहिलमा सुन व्यापारीको आँखामा खुर्सानीको धुलो हालेर सुन र नगद लुटेर भागेका युवक पक्राउ परेका हुन्।
लुटपाटमा संलग्न रहेको आरोपमा घोराही उपमहानगरपालिका ८ घर भई घोराही १५ रतनपुरमा डेरा गरी बस्ने २४ वर्षीय राजेन्द्र सिंहलाई सुन र नगदसहित प्रहरीले पक्राउ गरेको छ।
सिंहलाई पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताए। सिंहको साथबाट २२ तोला सुन र एक लाख नगद बरामद गरिएको प्रहरीको भनाइ छ।
डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार काठमाडौं महानगरपालिका ७ स्थित चाबहिलमा एक जना सुन व्यवसायी पसल बन्द गरेर घरतर्फ जाँदै गर्दा सिंहसहित समूहले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेका थिए।
गत फागुन २५ गते लुटपाटपछि सिंह लुक्न दाङ आएको सूचनाका आधारमा उनको खोजि गरिएको थियो।