दार्चुला-दार्चुलाको मार्मा गाउँपालिकामा च्यूरीबाट निर्मित साबुन उत्पादन सुरु भएको छ। मार्मा गाउँपालिका र ग्रामीण जलस्रोत परियोजनाको आर्थिक सहयोगमा शिवालिङ्ग सहकारीमार्फत साबुन उत्पादन सुरु भएको हो।मार्मामा पाइने च्यूरीबाट वडा नम्बर २ मा च्यूरी हर्बल साबुन उत्पादन सुरु गरिएको छ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले साबुन उत्पादन गरि बजारमा पठाउने तयारी भएको सहकारी संस्थाका अध्यक्ष गणेशसिह डडालले जानकारी दिए। मार्मा साबुन नाम दिइएको नुहाउने हर्बल साबुन उत्पादन गरि अहिले प्याकिङ गरेर बजारमा पठाउने तयारी भएको छ।पहिलो चरणमा १२ हजार पिस साबुन उत्पादन गरिएको छ।
उत्पादित साबुनलाई मार्मा, शैल्यशिखरको गोकुलेश्वर, डडेल्धुरा हुँदै धनगढीसम्म पठाउने तयारी गरिएको डडालले बताए। अहिले उत्पादित साबुन बजारको साबुनभन्दा सस्तो मूल्य रहेको उत्पादकको भनाई छ।
च्यूरी प्रसोधन व्यवसाय केन्द्रमा नुहाउने साबुन तथा हर्बिक परिक्षणको क्रममा रहेको छ। परियोजनाकाअनुसार अहिले नुहाउने साबुन ५ सय पीस उत्पादन गरिएको छ। बजारमा पाइने साबुन भन्दा सस्तो र गुणस्तरीय बनाउने गरी उद्योगले काम गरिरहेको डडालले बताए। उद्योगको लागि चाहिने कच्चा पदार्थ काठमाण्डौंबाट ल्याउनुपर्दा समस्या भइरहेको छ।
मार्मा गाउँपालिकामा मात्रै हरेक वर्ष १० देखि १२ मेट्रिक टन च्यूरी उत्पादन हुने गरेको छ। उद्योगले साबुनसँगै च्यूरीको तेल उत्पादन गरेर विक्री गर्ने गरेको छ। साबुन उद्योग विस्तारको लागि नौगाड, मालिकार्जुन, शैल्यशिखर र बैतडीको डिलाशैनी क्षेत्रमा समेत च्यूरी संकलन गरेर प्रसोधन गर्ने तयारी गरिएको छ।
उद्योग स्थापनाको लागि मार्मा गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र सहकारीमार्फत झण्डै एक करोड बढि लगानी भएको छ।उद्योगले साबुन उत्पादन गरेर बजारमा पठाउने तयारी गरेपछि मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले सुदूरपश्चिममै मार्मा गाउँपालिका स्थानीय उत्पादनबाट उद्योग स्थापना गरेर बजारमा समान विक्री गर्ने पहिलो पालिका भएको दाबी गरेका छन्।