काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अस्पताल भर्ना भएका छन्। नेता पुन माघीको अवसरमा रोल्पा गएका थिए। दुई दिनअघि रोल्पा गएका उनको स्वास्थ्यमा एकाएक समस्या देखिएपछि शनिबार हेलिकप्टरबाट काठमाडौँ ल्याएर अस्पताल भर्ना गरिएको हो।
पारिवारिक स्रोतका अनुसार अहिले पुनको ललितपुरको सुमेरु अस्पतालमा उपचार भइरहेको छ। हेलिकप्टरबाट काठमाडौँ उत्रिएलगत्तै उनलाई अस्पताल भर्ना गरिएको हो। वंशाणुगत जण्डिसबाट पीडित पुन रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए। स्वास्थ्यमा सुधार भएपछि उनी चीनबाट पुस ५ गते स्वदेश फर्किएका थिए। उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको थियो।
पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ। यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो । चिकित्सकले बिलरुबिन नियन्त्रित अवस्थामा राख्न पर्याप्त आरामको जरुरत रहेको बताए पनि अत्याधिक राजनीतिक सक्रियताका कारण पुनलाई समयसमयमा रोगले सताउने गरेको छ।