धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीले ‘विवादित’ व्यक्तिलाई जिम्मेवारी दिन थालेको गुनासो आएको छ। जिप्रका कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीमाथि विवादित छविका प्रहरीलाई संरक्षण दिने गरेको आरोप लागेको हो।
तत्कालीन कैलालीका सपी विश्व अधिकारीका पालामा जुवा प्रकरणमा आर्थिक लेनदेन गरेको आरोपपछि निलम्बनमा परेका तथा प्रदेश अनुसन्धान समूह (आरआइटी) बाट समेत जिम्मेवारीमुक्त गरिएका सहायक हवलदार प्रेम धामीलाई कैलाली प्रहरीले फेरी घुमुवामा राखेको छ। एसपी सोमेन्द्र राठौर जिल्लाको प्रमुख हुँदा समेत घुमुवा प्रहरी राखिएका धामीबारे आर्थिक असुलीको गुनासो बढेपछि राठौरले जिम्मेवारीबाट हटाएका थिए।
राठौरले घुमुवाको जिम्मेवारी खोस्दै मायामेट्रो अस्पताल क्षेत्रमा डिउटीमा खटाइएका धामीलाई उनी सरुवा भएको भोलिपल्टै डीएसपी जोशीले पुनः घुमुवाकै रुपमा राखेका हुन्। धामीले आफू डीएसपीको मान्छे भन्दै विभिन्न ठाउँबाट असुली गरिरहेको गुनासो बढेको छ।
स्रोतकाअनुसार आरआइटीमा कार्यरत हुँदा समेत धामी आर्थिक लेनदेनमा मुछिएपछि तत्कालीन डीआईजीले हटाएका थिए। यता डीएसपी जोशीले भने बाहिर आएका कुरामा सत्यता नभएको दाबी गरेका छन्। कुनै पनि जिम्मेवारीमा रहेका प्रहरीले पदीय आचारण विपरीत काम गरे कारवाहीको दायरामा ल्याइने उनको भनाई छ।