धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त प्रकरणको अनुसन्धान फेरी डीएनए परीक्षणमै केन्द्रीत भएको छ।
रवि लामिछाने गृहमन्त्री भएपछि नयाँ शिराबाट अनुसन्धान अघि बढाउने भन्दै डीआईजी दुर्गा सिंहको नेतृत्वमा टोली गठन गरिएको थियो तर सिंह नेतृत्वको टोली पनि अघिल्लोपटक जस्तै डीएनए परीक्षणमा केन्द्रीत भएको छ।
कञ्चनपुर पुगेर उक्त टोलीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणको अनुसन्धानका लागि भन्दै फेरी ५ जनाको डीएनएको नमूना संकलन गरेको छ। नमूना परीक्षणका लागि काठमाडौँ पठाउदै टोली पनि राजधानी फर्किएको छ। २८ पुसमा टोली बुद्ध एयरको विमानमार्फत फिर्ता भएको हो।
निर्मला हत्या प्रकरणमा शंकास्पद करीब डेढ सय जनाको डीएनए परीक्षण भइसकेको छ। २०७५ साउन ११ गते निर्मलाको शव स्थानीय उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको थियो। उनी अघिल्लो दिन साथीको घरमा जान्छु भन्दै निस्किएकी थिइन्।
सीआईबी नेतृत्वको छानबिन टोलीले करिब एक महिनापछि स्थानीय दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो तर डीएनए नमिलेपछि उनी छुटेका थिए।