धनगढीः सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका छन्। त्यसपछि रावलले माओवादी केन्द्रका दलका नेता खगराज भट्ट र एमालेकी सन्तोश शर्मा थापालाई पनि मन्त्रीमा नियुक्त गरेका छन्।
मुख्यमन्त्रीमा रावल, मन्त्रीमा भट्ट र थापा नियुक्त भएसँगै संविधानअनुसार यसअघिको मन्त्रीपरिषद्को कार्यकाल स्वतः सकिएको छ। तर प्रदेश सरकारका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका मानबहादुर धामीले भने मन्त्रालयबाट लिने सेवासुविधा अझै छाडेका छैनन्।
नयाँ मन्त्रिपरिषद् गठन भइसक्दा समेत मन्त्री धामीले मन्त्रालयको झण्डावाला गाडी अझै फिर्ता गरेका छैनन्। धामी अहिले पनि वन मन्त्रालयको मन्त्री हुँदा प्राप्त गरेको गाडीमा पूर्व मन्त्रीका रुपमा सयर गरिरहेका छन्।
उनले अर्को मन्त्री नियुक्त नहुँदासम्म आफू नै कार्यकारी भूमिकामा भएको दाबी गर्दै गाडी फिर्ता नगरेको स्रोतको भनाई छ।
सोमबार राति मात्र उनी मन्त्रालयकै झण्डावाला गाडीमा सवार रहेको अवस्थामा भेटिएका छन्। धनगढीको एक होटलमा उनको गाडी पुगेको तस्बिर भेटिएको छ तर यो विषयमा प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन्।