काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले एसियाली विकास बैंक (एडीबी)लाई नेपालमा ऋण लगाानीसँगै नवीन प्रविधिसमेत भित्र्याउन सुझाव दिएका छन् ।
एडीबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको वार्षिक समीक्षा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ऋण दिँदा विकसित देशमा प्रयोग हुने नवीन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरेका छन् । ‘हामीलाई अबका दिनमा ऋण मात्र होइन, प्रविधि पनि भित्र्याइदिनुपर्यो’, उनले भने, ‘जसकारण हाम्रा परियोजना कार्यान्वयन गर्न धेरै सजिलो होस् ।’
कार्यक्रममा एडीबीको आर्थिक सहयोगमा परियोजना सञ्चालन गरिरहेका मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिँदै उनले भने, ‘हामीले ऋण लिएर बनाएका परियोजना सम्पन्न भएर प्रतिफल दिन थालेपछि सोही ऋण तिर्न सक्षम हुनुपर्छ । अहिले बन्दै गरेका र अब छनौट हुने नयाँ परियोजनाका बारेमा पनि यो कुरा ध्यान दिनुहोला।’मन्त्री शर्माले नेपालको विशेषता र आवश्यकता सुहाउँदो सर्तहरु राखेर एडीबीले परियोजनामा लगाानी गर्नुपर्ने धारणा राखे। ‘ऋण लिने भनेर हामीलाई अप्ठ्यारो पार्नुभएन। नेपालको विशेषता र आवश्यकताका आधारमा सर्तहरु राखेर परियोजना अघि बढाउन म एडीबीलाई आग्रह गर्छु’, उनले भने ।
छलफलमा सहभागी विभिन्न मन्त्रालय निकायका प्रतिनिधिले समन्वयको अभाव भएको बताएका छन् । मन्त्री शर्माले समन्वय गर्न कर्मचारीबीच तालमेल नहुँदा विकासमा अवरोध भएको बताए । ‘कुन सडक कसले बनाउने भनेर पनि कर्मचारी साथीहरु अलमलिनुभएको छ, अनि कसरी हुन्छ विकास ?’ उनले भने, ‘सडक खन्ने, ढल बनाउने र बिजुलीको पोल गाड्ने काम समन्वय गरेर एउटै टेन्डरमा निकाल्दा भइहाल्छ, तर यहाँ बाटो बनाएपछि ढल विकासले खन्ने र विद्युत् प्राधिकरणले बिजुलीको पोल गाड्ने अनौठा उदाहरण देखिने गरेका छन् ।’
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा एबीडीको ४ खर्ब ९ अर्ब रुपैयाँ लगानीका परियोजना सञ्चालनमा रहेको जानकारी दिइएको थियो ।