काठमाडौं – पुस मसान्तसम्ममा नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागद्वारा १४ वटा वाणिज्य बैंकहरु कारवाहीमा परेका छन् ।
कारबाहीमा पर्ने बैंकमा प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई र नेपाल बंगलादेश बैंक रहेका छन् । त्यस्तै, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेञ्चुरी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक पनि कारवाहीमा परेका छन् ।
यसमध्ये, राष्ट्र बैंकले प्रभु बैंकलाई दोस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात तरलता अनुपात कायम नगरेको कारण १ लाख ८० हजार ४ सय ३० रुपैयाँ १४ पैसा जरिवाना गरेको छ । साथै, बोलकबोलका आधारमा संकलन हुने मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था उल्लंघन गरेको हुनाले नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक र सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीइओ) लाई केन्द्रीय बैंकले सचेत गराएको छ । नेपाल बैंकले भने एटलस इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीको खाता रोक्का राख्न दिइएको निर्देशन पालना नगरेको कारण बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।
कुल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५% विन्दुभन्दा बढीले फरक गर्न नपाइने व्यवस्थालाई उल्लघंन गरेको कारण स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंकका सीइओहरुलाई पनि केन्द्रीय बैंकले सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ ।