काठमाडौँ – आज (बुधबार) सेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० विन्दुमा झरेकाे छ । नेप्से ०.४१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.९३ अंकले घटेर ४१३.९० विन्दुमा झरेको छ ।
कूल २४८ वटा कम्पनीकाे एक कराेड ३३ लाख ४ हजार एक सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६ सय २ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी ३ वटा उपसमूहकाेे सेयर बढेकाे छ । विकास बैंक, हाइड्राेपावर र म्युचुअल फण्ड समूह बढेकाे हाे ।
बुधबार रिडी पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३५ कराेड ७८ लाख ५४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । कम्पनीले आजै मात्र ५० प्रतिशत हकप्रद निष्कासन गर्ने घाेषणा गरेकाे थियाे ।
यस दिन ४ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । पिपुल्स हाइड्राेपावर, बाराही हाइड्राेपावर, हिमालयन उर्जा र ग्रीन भेन्चर्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । आज साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.८९ प्रतिशतले घटेर प्रतिकित्ता ४ हजार ४ सय ९५ रूपैयाँमा झरेकाे छ ।