धनगढीः नेकपा एमालेका नेता डा भीम रावलले आफू एमालेमै क्रियाशील रहने बताएका छन्। तर, जबरजस्ती कसैले काम गर्न अवरोध गरे विकल्प खोज्ने उनले बताए।
पाँच दशकदेखि पार्टी र राष्ट्र हितका लागि आवाज उठाउँदै आएको बताउँदै रावलले आफ्नो रगत र पसिना एमालेमा बगेकोले पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने बताए।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि पहिलो पटक गृह जिल्ला अछाम पुगेका नेता रावलले आफूले पार्टीको सिद्धान्त र राष्ट्रहित विपरीतका कुनै कार्य नगरेको दाबी गरे।
निर्वाचनमा उम्मेदवारका लागि अछाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ बाट वडा, नगर, क्षेत्र, जिल्ला तथा प्रदेशबाट एकल नाम सिफारिस भए पनि टिकट नपाएकोप्रति असन्तुष्टि पोखे। रावलले भने, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिका कारण पटकपटक देशभक्त व्यक्तिहरूमाथि प्रहार हुँदै आएको छ।’