धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत सुनिश्चित गर्न काठमाडौँ पुगेका छन्। नागरिक उन्मुक्तिको निर्णायक समर्थनमा बनेको प्रदेश सरकारले सो पार्टीकै विश्वासको मत पाउने वा नपाउनेबारे दुविधा बढेपछि मुख्यमन्त्री रावल काठमाडौँ पुगेका हुन्।
यहीबीचमा शनिबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मुख्यमन्त्री र नागरिक उन्मुक्तिसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा छलफल गरेको छ। एमाले सचिव लेखराज भट्ट, पूर्वमन्त्री झपट बोहरालगायतसमेत सम्मिलित टोलीले संयुक्त रुपमा बालकोटमा गरेको सोसंवादलाई अर्थपूर्ण रुपमा लिइएको छ। मुख्यतः टीकापुर घटना मुद्दाको निकास र नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत दिने वा नदिने सवालमा सो भेटघाट र संवाद केन्द्रित रहेको एक नेताले बताए। यस्तै टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटघाट गर्ने भएको छ।
नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत जेलबन्दीको रिहाइ नभएसम्म सरकारलाई विश्वासको मत नदिने अडान राख्दै आएको छ। मुख्यमन्त्री रावल नेतृत्वको सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले समर्थन जनाइरहँदा सरकारले माघ माहिनाभित्रै रिहाइ गर्ने वचनबद्धता जाहेर गरेको थियो। आफ्नो सो पूर्ववत अडान र सरकारले दिएको आश्वासन कार्यान्वयनको लागि दवाव स्वरुप सो संसदीय टोलीले भेटघाटलाई तीव्र बनाएको हो।
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त रावलले ३० भित्रै प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। उनी सकेसम्म माघ ११ गतेको प्रदेश सभा बैठकमा प्रस्ताव पेश गर्ने र माघ १७ गते विश्वासको मत लिने तयारीमा छन्। तर बहुमत सदस्यको विश्वासको मत पाउनेमा पूर्णमा रुपमा ढुक्क नभएपछि उनले यो बीचमा काठमाडौं केन्द्रित राजनीतिक भेटघाट बढाएका हुन्।