काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिल्लामा प्रमुख जिल्ला अधिकारी र डिएसपीमा आफ्नो मान्छे सिफारिस गर्ने काम छोडेर प्रणाली सुधारमा सघाउन आग्रह गरेका छन्। मङ्गलवार संसदमा बोल्दै गृहमन्त्री लामिछानेले पुराना राजनीतिक दलहरूले राज्य संयन्त्रलाई थिलोथिलो बनाएको आरोप लगाए।
उनले भने, ‘राज्यका संरचनामा प्रणालीगत सुधार आवश्यक छ। तपाईँहरू जिल्लामा आफ्ना मान्छे पठाउन सिफारिस गर्न छोड्नुस्। राज्यका सबै मान्छे हाम्रा मान्छे हुन्। तपाईँहरूले सिफारिस गर्न छोड्नुभयो भने मात्रै हाम्रो आधा काम सहज हुनेछ ।’
लामिछानेले संसद्को बहस पट्यारलाग्दो भएको भन्दै विषयमा केन्द्रित हुन पनि सांसदहरूलाई सुझाव दिएका छन्।
उनले भने, ‘नयाँ आशा र उमङ्ग बोकेर संसदमा आएका हामीलाई संसद्को उपस्थिति उत्साहजनक देखिएको छैन। बहसलाई विषय केन्द्रित बनाइएन भने सांसदहरूको कुरा सुन्न जनतालाई उत्साह हुने छैन ।’
गृह प्रशासनमा केही दिनभित्रै परिणाम देखिने दाबी लामिछानेले गरेका छन्।