धनगढीः बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको क्षतिको विवरण संकलनमा समस्या देखिएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा केही घर भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाकाअनुसार अहिलेसम्म बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको विवरण आएको छ भने संकलन गर्ने काम भइरहेको छ।
हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीकाअनुसार वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएका छन्। अन्य वडामा टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण प्राप्त गर्न समस्या भएको सार्कीले बताइन्। गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले सोमबार रातिदेखि वर्षासँगै हिमपात भएका कारण टेलिफोनको नेटवर्क नहुँदा क्षतिको विवरण प्राप्त गर्न नसकिएको जानकारी दिए।