- राम धामी
डडेल्धुरा – जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्लाका दुर्गम र बिकट बस्तीसम्म जनचेतनामुलक अभियान सञ्चालन गरिरहेको छ ।
सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका दुर्गम बस्तीसम्म पुगेर सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीका साथै सरोकारवालाहरुसँग छलफल अन्तरकृया भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले् जानकारी दिए ।
सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसन, ब्यक्तिगत तथा सामुदायीक सरसफाई, घरेलु हिंसा, छुवाछुत र विभेद, आत्महत्या, अन्धविश्वास र कुरितिसँगै यौनजन्य अपराधिक कृयाकलापबिरुद्ध जनचेतनामुलक कक्षा सञ्चालन भइरहेको र समुदायस्तरमा पनि जनचेतनामुलक कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
भागेश्वर गाँउपालिकाको दुर्गम बस्ती मानिने रुपालस्थित अशिग्राम माध्यामिक विद्यालयमा डीएसपी भट्टसहितका प्रहरी अधिकृतहरु पुगेर विद्यार्थीहरुलाई जनचेतनामुलक कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक तारिसिँह जोराले जानकारी दिए । विद्यार्थीहरुलाई जनचेतनामुलक कार्यक्रममा सहभागी बनाउँदा नयाँ पुस्तामा अपराधिक कृयाकलापमा कमि आउने र समाज परिवर्तनका लागि महत्वपुर्ण योगदान पुग्ने प्रधानाध्यापक जोराले बताए ।
जिल्लाको सिमान्तगाँउ परशुराम नगरपालिका–५ परिगाँउस्थित भुवनेश्वरी नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक डम्बरसिँह थ्वालले दुर्गम क्षेत्रमा रहेका सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीसँगै समुदायस्तरमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेर प्रहरीले समुदायसँग पहुँच बढाउनुका साथै अपराधिक कृयाकलाप न्युनीकरणका लागि पहल गरिरहेको बताए । उनले प्रहरीको जनचेतनामुलक अभियानमा जिल्ला प्रहरी प्रमुखसँगै मातहतका प्रहरी इकाईका प्रमुखहरुको सहभागिताले समुदायसँग प्रहरीको घनिष्टता बढने र समाजमा हुने जघन्य अपराधिक कृयाकलापहरु नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
जनचेतनामुलक अभियानसँगै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बिभिन्न खाले सामाजिक अभियानहरुमा पनि सहभागिता बढाएको छ । सडक क्षेत्र साँघुरो भएकाले सवारी साधन आवागमनमा कठिनाई भइरहेको डडेल्धुरा सदरमुकाममा अव्यवस्थित पार्किङ हटाउने काम भइरहेको छ । डडेल्धुरा सदरमुकाममा सवारी साधनको आवागमनमा समस्या भएपछि प्रहरीले अव्यवस्थित पार्किङ हटाउन थालेको छ ।
डडेल्धुराको सदरमुकामसँग जोडिएको महाकाली राजमार्गमा अव्यवस्थित रुपमा सवारी साधनको पार्किङले सवारी साधन आवागमनमा समस्या देखिएपछि प्रहरीले हटाउने अभियान थालेको हो । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लासहित तराई र काठमाडौंसम्म आवतजावत गर्ने यात्रुबाहक बस, एम्बुलेन्स तथा स्थानीय बजारमा चल्ने निजी तथा सरकारी सवारी साधन र पैदल यात्रुहरुलाई अफ्ठ्यारो हुन थालेपछि अस्तव्यस्त किसिमले भइरहेको सवारी साधन पार्किङलाई व्यवस्थित गर्न लागिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
अनुमति बिना विदाको दिनमा चल्ने सरकारी सवारी साधनमाथि निगरानी गरेर कडा कारवाही गरिरहेको डडेल्धुरा प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकहरुलाई पनि कारवाहीको दायरामा ल्याउन थालेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिभिन्न सार्वजनिक स्थलहरुमा सरसफाई र सम्भाव्य पर्यटकीयस्थलहरुको संरक्षण सम्वद्र्धनमा समेत पहल गरिरहेको डीएसपी भट्टले बताए ।
पछिल्लो समय समुदायमा प्रहरीको सकृयता बढिरहेकाले अपराधिक कृयाकलाप न्युनीकरणसँगै सामाजिक परिवर्तनका लागि प्रहरीको भूमिका प्रर्शसनीय बन्न थालेको अधिबक्ता विष्णु भट्टले बताए । प्रहरी सकृयता बढेकाले मादक पदार्थ सेवन गरेर झैझगडा गर्ने, अवैध बस्तुहरुको तस्करी गर्ने, जुवातास खेल्ने जस्ता गतिविधीमा कमि आउन थालेको स्थानीय अगुवाहरु बताउछन् ।
अगामी दिनमा पनि कार्ययोजना बनाएर जिल्लाका विकट र दुर्गम बस्तीसम्म जनचेतनामुलक कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गरिने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।