कञ्चनपुरः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सोमबार बिरामी र अनाथ बालबालिकासँग बिताए। सहिद दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन रावल गृहजिल्ला कञ्चनपुर आएका थिए।
सहिद दिवसको दिन महाकाली प्रादेशिक अस्पतालका बिरामी र महाकाली बाल अनाथालयका बालबालिकासँग बिताए, मुख्यमन्त्री रावलले। महाकाली प्रादेशिक अस्पतालका बिरामीलाई भेटेपछि जेष्ठ सहिद दशरथ चन्दसहित चारै सहिदको शालिकमा माल्यार्पण गरेका थिए, मुख्यमन्त्री रावलले। अस्पतालमा उनले बिरामीसँग साक्षात्कार गर्दै फलफूल बाँडे। अस्पताल व्यवस्थापन समिति र चिकित्सकहरुसँग अस्पतालको पछिल्लो अवस्थाको बारेमा मुख्यमन्त्री रावलले जानकारी लिएका थिए।
महाकाली प्रादेशिक अस्पताल व्यस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले दक्ष जनशक्ति नहुँदा सोचे जस्तो गुणस्तरीय सेवा प्रदान गर्नमा समस्या भएको मुख्यमन्त्रीलाई सुनाएका थिए। उनका अनुसार अस्पतालसंग प्रयाप्त बजेट नहुँदा चिकित्सकहरुलाई तलब दिन हम्मेहम्मे परेको छ। यस्तै, प्रदेश सरकारले विगतमा दिएको बजेट र अस्पतालको भौतिक संरचना पनि अपुग रहेको समस्या मुख्यमन्त्री रावल समक्ष अस्पतालले राखेको थियो।
डायलाइसीस सेवा सुचारु गर्ने क्रममा रहेको तथा सीटीस्क्यान पनि सञ्चालन गर्नु पर्ने भएकाले प्रदेश सरकारले यसमा पहल गर्नु पर्ने अस्पताल व्यवस्थापन समितिले मुख्यमन्त्रीसँग माग राखेको थियो। मुख्यमन्त्री रावलले महाकाली प्रादेशिक अस्पतालको सेवा गुणस्तरीय बनाउन आफूले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। प्रदेश सरकारले पूर्णता पाएपछि महाकाली प्रादेशिक अस्पतालको गुणस्तर सुधारका लागि प्राथमिकताका साथ काम गर्ने उनले बताए।
‘विगतमा व्यवस्थापन समितिमा म पनि थिएँ, मैले अस्पतालको सम्पूर्ण समस्या नजिकबाट बुझेको छुँ,’ उनले भने, ‘अस्पतालको सेवा सुधारका लागि प्रदेश सरकारले पूर्णता पाएपछि प्राथमिकता दिएर काम गर्छुँ।’ निवर्तमान् सांसद निरुदेवी पालले महाकाली प्रादेशिक अस्पताललाई केन्द्र सरकारमा राख्नु पर्नेमा जोड दिइन्।
‘केन्द्रबाट महाकाली अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा हेरिन्छ, त्यस्तो वर्गीकरणमा छ, त्यसैले केन्द्रको नजरमा पर्दैन,’ उनले भनिन्, ‘केन्द्र सरकार मातहत राखेर थप सेवा सुविधा थप्न सकिन्छ, संघीय सरकारमा भएमा बजेट धेरै आउथ्यो।’मुख्यमन्त्री रावलले महाकाली बाल अनाथालयका बालबालिकालाई शैक्षिक सामाग्री समेत हस्तान्तरण गरेका थिए। सहिद दिवसको अवसरमा बालबालिकालाई रावलले शैक्षिक सामग्री प्रदान गरेका हुन।
अनाथहरुको अभिभावक सरकार रहेकोले सुदूरपश्चिम प्रदेश सरकारले त्यसको प्रत्याभूति दिलाउने उनले प्रतिबद्धता जनाए। ‘तपाईहरु अनाथ हुनुहुन्न, राज्य सरकार तपाईहरुसँग छ, राज्यले अभिभावकको प्रत्याभूति दिलाउँछ,’ मुख्यमन्त्री रावलले अनाथ बालबालिकालाई भने। सोमबार नै रावल पूर्णा माध्यमिक विद्यालय ऐरीको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्न पुगे। यस्तै उनले महेन्द्रनगरमा मजदुर नेता धर्मानन्द पन्तको ८ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई पनि सम्बोधन गरे।
सामाजिक विकास मन्त्रालयको समन्वयमा आगामी वर्षदेखि प्रदेश सरकारले सहिद दिवस मनाउने उनले बताए। यसअघि प्रदेश सरकारले औपचारिक रुपमा सहिद दिवस मनाएको थिएन।