महेन्द्रनगरः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीको सरुवा भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार माघदेखि नै खटाएको ठाउँबाट तलब, भत्ता पाउने गरि उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीमा खटाएको हो।
चौधरीको ठाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ८ सूचना संकलन, विश्लेषण, र अभिलेख व्यवस्थापन महाशाखा महाराजगञ्ज काठमाडौंबाट कमल थापा आउने भएका छन्। चौधरीसँगै नेपाल प्रहरीका ९५ जना एसपीको सरुवा भएको हो।
यसैगरी, प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयकै नायव उपरीक्षक (डीएसपी) को पनि सरुवा गरेको छ। कञ्चनपुर डीएसपी चक्रबहादुर शाहसहित १ सय ५० डीएसपीको सरुवा भएको हो। उनलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज केन्द्रीय पुस्तकालयमा खटाइएको छ। उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमबाट प्रकाश डाँगी आउने भएका छन्।