काठमाडौं – फरार सूचीमा रहेका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरीलाई आज जेल चलान गरिएको छ । कैलाली जिल्ला अदालतले कैलाली कारागारलाई कैदी पुर्जी जारी गरेर उनलाई जेल पठाइएको हो ।
कैदी पुर्जी अनुसार उनी आगो लगाएको आरोपमा फरार भएका थिए । उनलाई ६ महिनासम्म कारागार राख्न आदेश दिएको छ । सांसद चौधरी ७ वर्षदेखि फरार थिए । यद्यपी गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।
फरार सूचीमा रहेका चौधरीलाई बिहीबार बाँकेबाट पक्राउ गरेको थियो । बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद पुर्जी लिएर धनगढी कारागारमा चलान गरिएको थियो ।
कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा गरेका थिए ।
विसं २०७० वैशाख ९ मा कैलाली जिल्ला अदालतले सांसद अरुणकुमार चौधरीसहित पर्शुराम र वीरबहादुर गरी तीन जनालाई छ महिना कैद सजाय सुनाएको थियो । अदालतले पीडितलाई आठ लाख १८ हजार चार सय २३ क्षतिपूर्ति उपलब्ध गराउनेसमेत फैसला भएको थियो ।