काठमाडौँ – मलेसियाले घरेलु क्षेत्रमा नेपाली कामदारलाई पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न शुक्रबार प्रस्ताव राखेको छ । २०७५ कात्तिक ११ गते नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतामा घरेलु कामदार पठाउने विषय उल्लेख छैन ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वमा काठमाडौँको सोल्टी होटलमा भएको द्विपक्षीय बैठकमा मलेसियाको तर्फबाट मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले घरेलु कामदार पठाउन प्रस्ताव राखेको हो । नेपालले यो प्रस्तावलाई नेपाल र मलेसियाको संयुक्त प्राविधिक बैठकमा एजेन्डा बनाउन तयार भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले बताए ।
बैठकमा मलेसियाले तुरुन्तै ५ लाख विदेशी कामदार लैजान ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ ल्याएको बारे नेपाललाई औपचारिक रूपमा जानकारी दिएको छ ।
बैठकमा ५ लाख विदेशी कामदारमध्ये नेपालीबाट लैजाने संख्या भने स्पष्ट तोकिएन ।
मलेसियन पक्षले कम्पनी छाडेर वा भिसाको म्याद समाप्त भएपछि पनि बसिरहेका अलेखबद्ध (गैरकानुनी हैसियत भएका) कामदारलाई पुनः कानुनी हैसियतमा ल्याउने गरी नयाँ कार्यक्रम ल्याएको जानकारी दिइएको थियो ।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अर्यालले नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न मलेसियाको सहयोग गर्नुपर्ने बताए ।
नेपालले मलेसियामा कार्यरत सबै नेपाली कामदारलाई सामाजिक सुरक्षा कार्यक्रम (सोस्को)मा समेट्नका लागि अनुरोध गरेको छ । बैठकमा नेपाली सुरक्षागार्डको अवस्थाबारे पनि छलफल भएको छ । श्रम मन्त्रालयले नेपालबाट प्रहरी, सेना र सशस्त्र प्रहरी छिट्टै अवकाश पाउने हुँदा उचित तलब सेवा सुविधा दिई सुरक्षा गार्डमा आकर्षित गर्नुपर्नेमा जोड दिइएको थियो ।