धनगढी: सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शपथ लिएको तीन हप्ता बितिसके पनि विश्वासको मत लिने दिनको टुंगो अझै लाग्न सकेको छैन। मुख्यमन्त्री बनाउँदा समर्थन गर्ने चार मध्यको एक दल नागरिक उन्मुक्ति पार्टीले बिश्वासको मत दिने वातावरण बनिनसकेको भनेपछि बिश्वासको मत लिने दिनको टुंगो लाग्न नसकेको हो।
विश्वासको मतका लागि वातावरण तयार गर्न सुदुरपश्चिमका मुख्यमन्त्री राजेन्द्रबहादुर रावल दोश्रो पटक काठमाण्डौं गएका छन्। मुख्यमन्त्रीमा नियुक्त भएको लगत्तै मुख्यमन्त्री रावल काठमाण्डौ गएर नागरिक उन्मुक्तिका नेता, प्रधानमन्त्री र एमाले अध्यक्षसंग भेट गर्दै विश्वासको मतका लागि वातावरण बनाउन आग्रह गरेका थिए। तर अझै पनि विश्वासको मत पाउने वातावरण नभएपछि मुख्यमन्त्री रावल बिहीबार दोश्रो पटक संघिय राजधानी गएका हुन्।
नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदिय दलका नेता रामेश्वर चौधरी प्रदेश सरकारलाई बिश्वासको मत दिने वातावरण बनिनसकेको बताउँछन्। ‘पद र सरकार हाम्रो प्राथमिकताको कुरा हैन, दोश्रो कुरा हो,’ संसदिय दलका नेता रामेश्वर चौधरी भन्छन्, ‘सरकार प्राथमिकतामा नै नरहेपछि र बिश्वासको वातावरण बनि नसकेका कारण यस्तै अवस्थामा बिश्वासको मत दिने कुरै भएन ।’
केन्द्रमा भएका वार्ताहरुमा रेशम र अरु जेलमा रहेकाहरुलाई छुटाउँछु भने पनि त्यसको बिश्वास गर्ने वातावरण बनिनसकेको चौधरी बताउँछन् । ‘सरकारले छुटाउछु, छुटाउछु भन्दै आएको छ,’ चौधरी भन्छन्, ‘छुटाउनुको साटो हाम्रै नेतालाई पक्राउ गर्ने काम भएको छ । अनि मत दिने वातावरण कसरी बन्छ ?’
रावलले एमालेका दश, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरि २९ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गरेका थिए । नागरिक उन्मुक्तिले समर्थन नगरेसम्म बिश्वासको मत पारित हुने अवस्था सुदुरपश्चिम प्रदेशमा छैन ।
कांग्रेसमा हुदासम्म अरुणलाई केही कारवाही नगरिएको उल्लेख गर्दै चौधरीले भने ‘तर अहिले उन्मुक्तिमाा लागेपछि पक्राउ गर्ने, कारवाही गर्ने ? अब हामी सडक आन्दोलनमा जान्छौं ।’
एमालेका प्रदेश सभा सदस्य पाठक सरकारलाई समर्थन गर्दा नागरिक उन्मुक्तिले रेशम चौधरी सहितको मुद्धा फिर्तालाई मुख्य मागको रुपमा अघि सारेको बिषयमा छलफल भैरहेको र चाडै सम्वोधन हुने बताउँछन् । ‘रेशमजी सहितका लाई राजनैतिक रुपमा सम्वोधन गर्ने बिषयमा राजनैतिक रुपमा त सहमति नै छ,’ पाठक भन्छन्, ‘प्राविधिक रुपमा मिलाउन केही समय लागेको हो, त्यो मिल्ने बित्तिकै उन्मुक्तिका साथीहरु प्नि बिश्वासको मत दिनु हुन्छ ।’
‘सुदूरपश्चिम प्रदेश सभामा बिश्वासको मत पाउन २७ मत पाउनु पर्छ । प्रदेश सभामा ५३ सदस्य छन् ।