दार्चुला-दार्चुलाको दुर्गम स्थानीय तह अपिहिमाल गाउँपालिकामा प्रशासकीय भवन निर्माणका लागि मिक्चर मेसिन, जेनेरेटर लगायत सामाग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ
गाउँपालिकाको केन्द्रसम्म सडक नपुग्दा हेलिकोप्टरमार्फत सामाग्री ढुवानी गरिएको हो।प्रशासकीय भवन निर्माणका लागि मिक्चर मेसिन, जेनेरेटर, तेल लगायत सामाग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको निर्माणको जिम्मा पाएका कमलेशसिंह मन्यालले जानकारी दिए।
ट्रकमार्फत मार्मा गाउँपालिकाको केन्द्र लटिनाथसम्म मिक्चर र जेनेरेटर ढुवानी गरेका थियौँ, उनले भन्नुभयो, लटिनाथदेखि भवन निर्माणस्थलसम्म शनिबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत पुर्याइएको हो।
भवन निर्माणका लागि सरिया, सिमेन्ट लगायत निर्माण सामाग्री यसअघि नै निर्माणस्थलमा पुर्याइसकेको मन्यालले बताए। अपिहिमाल गाउँपालिका–४ नौपाटामा तीन तलाको २६ कोठे प्रशासकीय भवन निर्माण गर्न सात करोड ४० लाख बजेटमा ठेक्का भएको छ।दुई बर्षभित्र निर्माणको काम सम्पन्न गर्ने गरी गत मंसिरमा धनगढीको रबिना प्रशंसा एलबी एभि एण्ड जेभी कन्सट्रक्सनसंग सम्झौता भएको अपिहिमाल गाउँपालिकाले जनाएको छ।
भवन निर्माणका लागि खनाईको काम सम्पन्न भइसकेको र निर्माण सामाग्री समेत पुगिसकेकोले तिब्रताका साथ काम अघि बढाउने तयारी रहेको निर्माणको जिम्मा पाएका कमलेश मन्यालले बताए।
अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ मकरीगाडबाहेक सबै वडामा सडक पुगेको छैन्। सडक अभावका कारण खाद्यान्न, निर्माण सामाग्री ढुवानी गर्न, यात्रा गर्न र बिरामीहरुलाई अस्पताल पुर्याउन समेत निकै सास्ती भोग्नुपरेको स्थानीय बताउछन्। अपिहिमालमा सडक नपुगेकै कारण अन्य विकास निर्माणका कामहरु समेत प्रभावित भएका छन्।
लामो पैदल यात्रा गर्नुपर्ने र मजदुर र खच्चरको भरमा ढुवानी गर्नुपर्ने भएकोले महगिं समेत अत्यधिक हुने गरेको छ।तीन महिनाका लागि समेत स्थानीय उत्पादनले नपुग्ने र यातायातको समेत पहुँच नहुदा खाद्यान्न अभाव लगायत विभिन्न समस्या भोग्नुपरेको स्थानीय बताउछन्।
अपिहिमालका स्थानीयहरुले फलफुल, दलहन खेती, जडिबुडी संकलन र व्यापार व्यवसाय लगायत काम गरेर जीविकोपार्जन गर्दै आएका छन्।