धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन्। मुख्यमन्त्री शाहले साढे तीन बजे प्रदेश प्रमुख देवराज जोशीबाट सपथ ग्रहण गर्न लागेका हुन्।
हिजोमात्र नियुक्त भएका मुख्यमन्त्री शाहले आज नै सानो आकारको मन्त्रीमण्डल पनि विस्तार गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार आजै उनले नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेशसभा सदस्य नरेश शाही र नेपाली कांग्रेसका प्रकाश बहादुर देउवालाई मन्त्री नियुक्त गर्दैछन्। यसअघि समाजवादीका सुदूरपश्चिम दलका नेता दीर्घ सोडारी मन्त्री बन्ने भनिएपनि उनले आफू मन्त्री बन्न अस्वीकार गरेका छन्। त्यसपछि समाजवादीले शाहीलाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने निर्णय भएको एक प्रदेश सभा सदस्यले जानकारी दिए।
शाही बाजुरा-२ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।
यस्तै कांग्रेसका कैलाली ४ बाट निर्वाचित प्रकाश देउवा पनि मन्त्री बन्ने भएका छन्।कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजासमेत रहेका उनी मन्त्री बन्ने पक्कापक्की रहेको एक प्रदेश सभा सदस्यले बताए। अहिले यहाँ एकीकृत समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ। तर मुख्यमन्त्री शाह आजै विभाग तोक्ने वा बिना विभागिय मन्त्री बनाउने भन्ने विषयमा छलफल छन्। नेपाली कांग्रेसले भने कुन मन्त्रालय लिने भन्नेबारे निर्णय लिन छलफल गरिरहेको जनाएको छ।तत्काल कांग्रेसले एक जनालाई मात्र सरकारमा पठाउने तयारी गरेको छ।बिहीबार एमालेका मुख्यमन्त्री
राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पदमुक्त भएपछि ठूलो दलको नेताको हैसियतले शाह मुख्यमन्त्री नियुक्त भएका थिए। उनले अबको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादीका ११ (सभामुखसहित), एमालेका १०(उपसभामुखसहित), नाउपाका ७, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ जना सांसद छन्। विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ।