धनगढी: यातायात ब्यवसायी तथा मजदूर संगठनको सयुंक्त आन्दोलन अन्तरगत सरकारलाई आफ्ना माग सुनुवाइका लागी सुदूरपश्चिमका मजदूर संगठन र यातायात ब्यवसायीहरुले धनगढी बसपार्कमा कोणसभा आयोजना गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ, अखिल नेपाल यातायात मजदूर संग र यातायात ब्यवसायी सुदूरपश्चिमको टिमले संयुक्त रुपमा सरकारलाई दवाव दिन धनगढी बसपार्कमा कोणसभा आयोजना गरेका हुन् ।
कार्यक्रममा बोल्दै सुन्दर सुदूरपश्चिम यातायात प्रा.लीका अध्यक्ष पदम सापकोटाले लोकतन्त्र, गणतन्त्र आएपनि मजदूर तथा यातायात क्षेत्रका लागी कुनै सरकार नआएको बताए । कुनै ब्यक्तीले उधोगधन्दा खोल्यो भने उसको कति सम्मान छ तर यातायात ब्यवसायी तथा मजदूरको सम्मान कहिल्यै भएन बरु हेप्ने काम भयो उनले भने “त्यो बेला सिण्डिकेटको नाममा ब्यवसायी संघ खारेज गरियो, अहिले देख्नुभयो अस्वस्थ प्रतिस्प्रधाका नाममा ब्यवसायीहरुको टाँट पल्टाउने काम गरेको छ ।” हामीले सरकारलाई सबै माग राखिसकेको बताउँदै ति माग सुनुवाई नभए फागुन ३ गतेदेखी निरन्तर आन्दोलन अगाडी बढ्ने उनले बताए । ट्राफिक प्रहरीले जथाभावी रुपमा जरिवाना अशुल्दै आतंक फैलाएको भन्दै उनले सरकारलाई कानुन अनुसार मात्रै जरिवाना लिने र लाइसेन्स खारेज गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेपाल यातायात ब्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष टेकराज जोशीले मजदूर तथा ब्यवसायीको यो आन्दोलनमा राष्ट्रिय यातायात ब्यवसायी महासंघको पुर्ण समर्थन रहेको बताए । सरकारलाई १६ वटा माग राखेर सरकारलाई अल्टिमेटम दिएका छौँ उनले भने “२९ गते मन्त्रीले बोलाएको थाहा पाएका छौँ, त्यो कति पुरा हुन्छन् हुँदैनन्, हेर्दै जानेछौँ, र हामी चालक, सह चालकले कानुन बिपरित काम गर्नु हुँदैन, राज्यलेनै नियम मिच्ने काम गरे हामी आन्दोलनमा उत्रिनेछौँ ।”
सरकारलाई दिएको १५ दिनको समय फागुन २ गते सकिदैँछ । यस बीचमा माग सम्बोधन भए निर्धारित कार्यक्रम फेरबदल हुने नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले बताएका छन् । राज्यका संरचनाहरु मजदुर दमनमा उत्रिएपछि अन्तिम विकल्पका रुपमा काम रोकेर आन्दोलनमा जाने निर्णय गर्नु परेको उनले बताए ।
फागुन २ गतेभित्र माग सम्बोधन नभए ३ गतेदेखि देशभरीका श्रमिक, स्वरोजगार व्यवसायी र व्यवसायीहरु सम्पूर्ण सवारीसाधन घर, ग्यारेजमा थन्क्याएर आन्दोलनमा जानु पर्ने उनको भनाई थियो । राज्यले राजश्व उठाउने नाममा सवारी चालकहरुलाई आतकिंत पारेर जरिवाना अशुलिरहेको छ उनले भने “देशको मेरुदण्डको रुपमा रहेको यातायात क्षेत्रलाई राज्यलेनै दमन गर्न खोज्नु निन्दनिय छ, यसका बिरुद्ध हामी एकजुट भएर सशक्त आन्दोलनमा उत्रिनेछौँ ।”