काठमाडौं-आज अन्तर्राष्ट्रिय खुसी दिवस। संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१३ देखि हरेक मार्च २० तारिखका दिन यो दिवस मनाउने गरिएको छ।खुसीको महत्त्वलाई पहिचान गर्नका लागि दिवस मनाउन थालिएको हो। सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घले १७ वटा दिगो विकास लक्ष्य घोषणा गरेर गरिबी अन्त्य गर्न, असमानता घटाउन तथा पृथ्वीको रक्षा गर्न प्रयत्न गरेको थियो। यी तीनै प्रयासले नै संसारमा खुसी छाउने संयुक्त राष्ट्र सङ्घको विश्वास छ।
राष्ट्र सङ्घको दिगो विकास समाधान नेटवर्कले अस्ति सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदनले दक्षिण एसियाली देशमा नेपाल सबैभन्दा खुसी देश भएको देखाएको छ। प्रतिवेदनका अनुसार यो वर्ष नेपाल ५ दशमलव ३७७ अङ्कसहित सूचीको ८४औँ स्थानमा छ।यो गएको वर्षको तुलनामा ३ स्थान माथि हो ।
गएको वर्ष ५ दशमलव २६९ अङ्कसहित नेपाल सूचीको ८७औँ स्थानमा थियो। प्रतिवेदन अनुसार दक्षिण एसियामा नेपालपछि खुसी हुने देशमा बङ्ग्लादेश परेको छ।सामूहिकतामा विश्वास गर्ने समाज, दुस्खसुखमा एकअर्कालाई साथ दिने परम्परा, बाँडीचुँडी खाने प्रवृत्तिलगायत सांस्कृतिक परम्परागत पक्षले नेपालीहरु खुसी रहेका देखिएको हुनसक्ने समाजशास्त्री निर्मल गौतमले बताए।सूचीअनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश हो।