काठमाडौँ – राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रूपले भूमिका खेले पनि यस पटक भने प्रत्यक्ष रूपमा नै भूमिका खेलेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले शक्ति राष्ट्रहरूले यस पटक प्रत्यक्ष रूपमा आफ्नो देशको स्वार्थअनुकुल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको बताए। यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको उनले बताए।
‘राष्ट्र सानो ठुलो हुनसक्छ। निश्चय पनि नेपालको तुलनामा भारतको भूगोल, जनसङ्ख्या, आर्थिक दृष्टिकोणले ठुलो छ’, उनले भने, ‘तर सार्वभौम सत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो, ठुलो हुँदैन। सार्वभौम सत्ता हरेक राष्ट्रको बराबर हुन्छ।’
सांसद केसीले नेपाली सरकार प्रमुखहरू विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको दाबी गरे।
केसीले भने, ‘विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेका छौँ, यसले वास्तवमा राष्ट्रको स्वाभिमान, इज्जतमाथि खलल गरिरहेको छ।’
उनले भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरुदेखि मन्त्रीहरू र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताए।
‘छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरू आफूलाई असाध्यै जान्ने सुन्ने र देशको स्वाभिमान हुँ भन्दै मुन्टो हल्लाउँदै हिँड्ने, किन यसरी विदेशीहरूको अघि लम्पसार परिरहेका छन्, राष्ट्रिय स्वाभिमानको बारेमा उहाँहरूलाई अलिकति लाज लाग्दैन।’, उनले भने।
उनले भूगोलको हिसाबले राष्ट्र सानो, ठुलो भए पनि सार्वभौम सत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो, ठुलो नहुने बताए। सांसद केसीले नेपालमा गणतन्त्र माथिको खतरा गणतन्त्र पक्षधरहरूबाट नै रहेको बताए।