काठमाडौं – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपतिको विषयमा आक्रोशित रूपमा प्रस्तुत भएका छन्। सोमबार पदाधिकारी बैठक अगाडि पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव गुरुङले दलको व्यक्ति राष्ट्रपति बन्न नसक्ने भन्दै आक्रोश व्यक्त गरेका हुन्।
‘पार्टी विशेषलाई राष्ट्रपति भन्ने हुन्छ कतै?संविधानमा त्यस्तो भावना छ? संविधानमा हुँदै नभएको कुरा गर्ने?,’ उनले भने, ‘कुनै दलले प्रस्ताव राख्न पाउँदैन भन्ने हुन्छ? प्रस्ताव राख्ने एउटा पाटो भो। दल विशेषलाई बनाउने अर्को कुरा हो? संविधानमा दल विशेषलाई बनाउने परिकल्पना छ? संविधानको भावनाअनुसार जानुपर्छ।’
महासचिव गुरुङले राजनीतिक दलको उम्मेदवार राष्ट्रपति बनाउने व्यवस्था नभएको उल्लेख गर्दै संविधानमा दलको राष्ट्रपति बनाउने व्यवस्था कहाँ छ? हावादारी कुरा गर्नेरु भन्दै आक्रोश व्यक्त गरे।
वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते र उपराष्ट्रपतिको पदावधि आगामी चैत ३ गते समाप्त हुँदै छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ। त्यसका लागि माओवादी केन्द्रले सहमतिको प्रयास गरिने बताउँदै आएको छ भने नेकपा एमाले र नेपाली कांग्रेसले आ-आफ्नो दलले पाउनुपर्ने दाबी गर्दै आएका छन्।