एजेन्सी – युक्रेनले मारिउपोल शहर आत्मसमर्पण गर्न रुसले दिएको चेतावनी अस्वीकार गरेको छ । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शहरलाई आत्मसमर्पण गर्ने वा हतियार बिसाउने सवाल नै नरहेको बताएकी हुन् ।
यसअघि रुसी फौजका जनरल मिखाइल मिजिन्त्सेभले मस्कोको समयअनुसार सोमबार बिहान ५ बजेभित्र मारिउपोलबाट युक्रेनी फौज र ‘भाडाका विदेशी लडाकु’ ले शहर छाडेर आत्मसमर्पण गर्न अल्टिमेटम दिएका थिए । यसो गरेको खण्डमा शहरमा फसिरहेका मानिसलाई सुरक्षित स्थानमा जान दिने रुसी प्रस्ताव थियो । तर युक्रेनले सो अल्टिमेटमलाई अस्वीकार गरेको छ ।
हाल रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा ३ लाख भन्दा धेरै मानिसहरू फसिरहेको अनुमान गरिएको छ । यो शहरमा रुसी फौजले नियमित रुपमा भिषण गोलाबारी र हवाई आक्रमण गर्दै आएको छ ।
रुसी प्रस्ताव आएको केही घण्टापछि नै मारिउपोलका मेयरका सल्लाहका पिटर आन्द्रुशेन्कोले लड्न नछाड्ने अडान लिएका थिए । ‘हामी अन्तिम सिपाहीसम्म लडिरहने छौं ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
रुसको बाचामा विश्वास गर्न नसकिने भन्दै उनले रुसी फौजले मारिउपोलका बासिन्दालाई जबरजस्ती रुस ओसारिरहेको आरोप समेत लगाए । रुसी फौजको चौतिर्फी घेराबन्दीमा परेको यस शहरमा बिजुली, इन्धन, खानेपानी जस्ता अत्यावश्यक सेवाको आपूर्ति बन्द रहेको बताइएको छ ।