दार्चुला – चैत महिना शुरू भएसँगै दार्चुलामा भिटौला पर्व शुरू भएको छ । भाइबहिनीको प्रेम पर्वका रुपमा रहेको भिटौला खास गरेर दार्चुला, बैतडी र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षकातर्फबाट दाजुभाइले भेट्ने चलनको रुपमा प्रचलित छ ।
चैत्र १ गते देखि चेलीबेटीलाई भेट्ने दिन शुरू हुन्छ । चैत महिना खडेरीको महिना पनि हो । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ ।
लेकमका इन्द्रदेव जोशीका अनुसार अहिले भिटौला पर्वको महत्व झन बढ्दै गएको छ । पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता भइरहेको छ । होली पर्वको महत्वजस्तै सुदूरपश्चिममा यो पर्वको चलन निरन्तरता भइरहेको छ ।
’अरु संस्कृति बरु छोड्दै गएको पाइन्छ’, उनले भने, ’तर यो पर्वमा भाइबहिनीको भेट नभए खल्लो महसुस गर्ने गर्छन् ।’ परम्परागत कथनअनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको छ ।
भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरीबहिनीको घरमा पु¥याउने चलन छ । माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँ छिमेकमा बाँड्ने चलन रहेको जानकी मिश्र बताउँछन् ।
पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोसमेत थाहा हुँदैन थियो । वसन्त ऋतुमा पराई घरमा छोरी चेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको पण्डित भोजराज पन्त बताउँछन्।
भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन छ । भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ । दाजुभाइ नभएका परिवारमा नजिकमा गएर भेट्ने चलन रहेको छ । चैत महिनामा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्व अझै गाउँघरतिर घटेको छैन । यो महिनाभरि एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन रहेको छ । यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने बताइएको छ ।
सामाजिक मूल्य, मान्यता, आदर्श आदिका संवाहक यस्ता किसिमका संस्कृति जीवन्त राख्नुपर्ने संस्कृतिका जानकार बताउँछन् । भौगोलिक विकटता, सञ्चार अभावमा बिहेपछि टाढा रहेका छोरीचेलीलाई माइती पक्षका भाइले वर्ष दिनमा एकपटक भेट्नुपर्ने परम्पराले सुख दुःख आदानप्रदानमा सहज बनाएको छ ।
चैतलो खेलेर आम्दानीको श्रोत जुटाउदै बादी समुदाय बादी अल्पसङ्ख्यक जातिहरूमध्येको एक समुदाय हो । जसले अन्य अल्पसङ्ख्यक जातिहरूले जस्तो स्वच्छन्दपूर्वक प्रकृतिको काखमा लुटपुटिएर आफ्नो जातीय पहिचान बचाएको पाइँदैन ।नेपालमा बसोबास गर्ने बादी समुदाय खस समुदायको एक हाङा हो ।
अल्पसंख्यकको रूपमा चिनिने बादी समुदाय नेपाल को ७२ जिल्लामा बसोबास गरेको पाइन्छ ।दार्चुलाको शैल्यशिखर नगरपालिकामा बसोबास गर्ने बादी समुदाय हरुको अहिले सम्म पुस्तौ देखि आफ्नो नाममा जग्गा जमिन समेत रहेको पाइदैन।शैल्यशिखर नगरपालिका वडा न ६ मा बसोबास गर्दै आएका देब राम दमाई चैत्रको महिना भरी गाउँगाउँ सम्म गएर हुड्को बजाइ चैतलो गाएर आम्दानीको श्रोत जुटाउदै आएको बताउछन । परापुर्ब कालदेखि आफ्ना पू्र्खाहरुले गर्दै आएको रिती आफूहरुले पनि नछोड्ने देबराम दमाई ले बताए।
घर घरमा पुगी चैतलो गाएर मकै गहु पैसा मागेर उनी आफ्नो गुजारा चलाउदै आएका छन । हुड्को को साथमा चैतलो गाउदा सुदुरपस्चिममा चैतको महिना बहिनी ले माइती लाई सम्झेको र माइती ले बहिनी सम्झेको को बेदना गाएको पाइन्छ । सुदुरपस्चिम मा चैत्रको महिना माइती पक्षले छोरी बैनी को घरमा मीठो मसिनो लगेर भेट्ने चलन रहदै आएको छ। चैतलो गाउदा यो विषय लाई पनि गहन गरि बादि समुदायले गित मार्फत गाएको पाइन्छ। उसोत अहिले चैतलो हुड्केली लोप हुन थालेको छ। उनी हरुको पुर्ख्यौलीमा थुप्रै बादी समुदायहरुले नाचगान गरेको भए पनि अहिले आएर कहिकतै मात्र चैतलो खेलेको पाइन्छ।
चुनावको बेला भोट माग्न नेताहरु उनीहरुको घरदैलो सम्म पुग्ने गरेको भए पनि भोट मागी सकेपछी नेता हरुले चिन्नै छोड्ने देब राम दमाईको गुनासो छ ।चुनावको बेला नेताहरुले व्यवस्था गरिदिने भने पनी अहिले सम्म नत राज्यले नै उनी हरुको व्यवस्था गरेको छ नत स्थानीय सरकार ले नै हुड्को बजाएर मागी खानु आफ्नो बाध्यता रहेको महेश राम दमाई को भनाइ छ ।
भुमी आयोग र स्थानीय सरकारले जमिन नाममा दर्ता गरिदेने भने पनि तीन पुस्ता सम्म जमिन समेत नदिएको र आफूहरु जंगलको एक छेउमा बस्दै आएको ग्यानु राम दमाईले बताए ।
राजा रजौटाको समयमा कुन राजा र भारदारहरूका बैठकमा बादी युवतीहरूको नृत्य भएन होला । बादी पुरुषहरूले बनाएको उम्दा मादल सुदुरपस्चिम नेपालको कुन जातिको लोकगीतमा घन्केन होला । तर, तिनै नृत्य कुशल बादी युवतीहरू, उम्दा मादल बनाउने बादीहरूका अस्तित्व नै आजभोलि संकटमा पर्दै गएको छ। नाचगानमा र चैतलोमा रम्ने बादी समुदायहरू अहिले क्रमश त्यो पेशा छोड्दै गरेको पनि देखिन्छ ।
राज्यले व्यवस्था नगरे बादि सामुदायिकको चैतलो र हुड्के नाच लोप हुने देखिन्छ। हामीले त जेससो गरेर पनि पुर्ख्यौली रिबाज छोडेका छैनौं तर भाबी दिन हरुमा हाम्रा छोरा छोरीहरुले पेशालाई छोड्ने हुनकी भनी चिन्ताको बिसय रहेको देबराम दमाई को भनाई छ ।