काठमाडौँ – नेपाली काँग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एमालेले पनि आफूलाई साथ दिने अपेक्षा गरेका छन् ।
शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उम्मेदवारी दिएपछि उनले राष्ट्रपति पदलाई साझा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि योगदान गर्ने आफूले अपेक्षा गरेको बताए ।
‘एमाले अध्यक्ष ओली पनि म सँगै जेल बस्नुभएको हो, यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने अपेक्षा गरेको छु’ उम्मेदवारी मनोनयन दर्तापछि उनले पत्रकारहरूसँग भने । पौडेलले राष्ट्रपतिको चुनाव हुने दिनसम्म एमालेको पनि साथ पाउने बताएका हुन् ।
राष्ट्रपतिमा निर्वाचित भएमा नेपालको संविधानको अक्षर र भावनाको अक्षरश पालना गर्ने पौडेलले बताए । त्यस्तै गणतन्त्र संस्थागत गर्ने र नेपाली जनताको सार्वभौमसत्तालाई बलियो र सुरक्षित बनाउने पनि उनले बताए ।
‘नेपालमा आएको परिवर्तनको रक्षा गरेर नेपाली जनताको उन्नति अघि बढाउने, नेपाली जनताको एकता, राष्ट्रिय अखण्डता र राष्ट्रियता सबल बनाउने काममा मेरो सहयोग हुन्छ’ उनले भने ।
२५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।