पोखरा – नेपाली आर्मीको क्याप्टेन भएको भन्दै विभिन्न व्यक्तिसँगै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीले ओखलढुंगा मानेभञ्ज्याङ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १० बस्ने अर्जुन कटुवाल भनिने धनबहादुर परियारले आफूलाई नेपाली सेनाको क्याप्टेन रहेको र हाल मिसनको लागि विदेशमा रहेको, आफूसँग सेनाको ठूला ठूला मानिससँग चिनजान छ त्यसैले सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लेप्टेन र सिपाही पदमा नोकरी लगाई दिन सक्छु फेसबुकमार्फत कुरा गरी करिब १० लाख ठगेको आरोपमा प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो ।
उनले फेसबुकमा कुराकानी गरी विश्वास दिलाई ३ जना व्यक्तिहरूबाट रु. ९,७५,१४०।– (नौ लाख पचहत्तर हजार एक सय चालिस) रुपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा परियारलाई पक्राउ गरी अनुसन्धान गर्दा निजको साथबाट नेपाली सेनाको सहसेनानी अर्जुन कटुवालको नाममा बनाएको नक्कली परिचयपत्र, नेपाली सेनाको सहसेनानी पदको दर्ज्यानी चिन्ह र अर्जुन कटुवाल नामको चेसप्लेट लगाएको नेपाली सेनाले प्रयोग गर्ने चुस्ता १ सेट, हरियो ज्याकेट, बेल्ट, दाप सहितको खुकुरी, तुमलेट, सेनाको लोगो भएको गेमड्रेस र ट्रायकसुट, विभिन्न व्यक्तिहरूको नामको उपसेनानी पदको उम्मेदवारहरूको फाराम, सिपाही पदको परिचय पत्र, खालि परिचयपत्रहरू समेत बरामद गरेको थियो ।
उनलाई आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा सम्मानित कास्की जिल्ला अदालतबाट सातदिनको म्याद थप गरी अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।