काठमाडौं – मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाअन्तर्गत् सब स्टेशन निर्माणका लागि नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्न सरकारले आग्रह गरेको छ । मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले एक सूचना जारी गर्दै अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न आग्रह गरेको हो ।
एमसीए–नेपालद्वारा निर्माण गर्न लागिएको ४०० केभी रातमाटे सब–स्टेसनका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू समेत निर्धारण भई सोको वितरण तथा जग्गाको लगत कट्टा एवं नामसारी समेत भइसकेको सूचनामा भनिएको छ ।
‘ती अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम अनुरूप सब–स्टेसन निर्माणका लागि तारबार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेकोले मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू बुझिसकेका महानुभावहरूले अधिग्रहण गरिएका घरजग्गाहरू यो सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र खाली गरिदिनुहुन अनुरोध सहित यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा भनिएको छ।
एमसीए नेपालका अनुसार अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुरुप सबस्टेसन निर्माणका लागि अब तारबार गर्ने कार्य अघि बढाइने छ । एमसीसी कम्प्याक्ट कोषको कुल ५० करोड अमेरिकी डलरमध्ये ३९ करोड ८२ लाख डलर विद्युत् प्रसारण आयोजनाका लागि मात्रै खर्च हुनेछ ।
विद्युत् प्रशारण आयोजनाअन्तर्गत तीन वटा नयाा सबस्टेसन निर्माण हुनेछन् । नुवाकोटमा रातमाटे सबस्टेन, तनहुँमा दमौली सबस्टेसन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सबस्टेसन निर्माण गरिनेछ ।