काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्ने गरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिए।
प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री देउवाले सो बैठकमा निर्देशन दिँदै भने, ‘‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईहरुले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्।’’
प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन गरेका थिए। उनले मन्त्रालय एवं मातहतका सबै सरकारी कार्यालयहरुलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी नीति तय गर्न पनि निर्देशन दिए।