महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री शाहले पेश गरेकाे विश्वासकाे मत सम्बन्धि प्रस्तावकाे पक्षमा ४१ र विपक्षमा ११ मत परेकाे हाे ।
सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेकाे प्रस्तावकाे पक्षमा बहुमत सदस्यले मतदान गरेकाे भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएकाे घाेषणा गरेका हुन् । याे मत ५३ सदस्यीय प्रदेशसभाकाे दुई तिहाइ भन्दा बढि हाे । २६ माघमा संविधानकाे धारा १६८ काे उपधारा(३) अनुसार ठूलाे दलकाे हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.तारा जाेशीले विश्वासकाे मत दिएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १० र राप्रपाका १ जना सांसदले विपक्षमा मतदान गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका राजेन्द्र सिंह रावल नेतृत्वकाे सरकार २६ माघमा ढलेकाे थियाे । साेही दिन मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका शाहलाई कांग्रेस र नेकपा एकीकृत समाजवादीले साथ दिएका थिए । तर राष्ट्रपति निर्वाचनलाई लिएर केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि एमाले नेतृत्वकाे गठबन्धन टुटेपछि माओवादी र नागरिक उन्मुक्ति पार्टीले शाहलाई सघाउने अवस्था बनेकाे हाे ।