काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधी बनाउन खोजिएको भन्दै यदि त्यसो भएमा इतिहास दोहोरिन सक्ने भन्दै चेतावनी दिएका छन् । शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले भने ‘जनयुद्ध हाँकेका माओवादीहरूलाई हत्यारा ठहर गर्ने चेष्टा कसैले नगरे हुन्छ।’
माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउने भन्दै दुई सय वर्षसम्म नेपालीलाई चुसेर अर्बौं सम्पत्ति थुपार्नेहरू अपराधी हुन् कि जनताको अधिकारका लागि लड्नेहरू अपराधी ? भन्ने प्रश्नसमेत गरे। उनले भने–‘यस्तै हो भने इतिहास दाहोरिन सक्छ, हेक्का राखे हुन्छ।’
उनले अहिले आफूहरूलाई अपराधी बनाउन खोजिने गरी व्याख्या गर्नेहरूलाई जनयुद्धमा भेटेको भए त्यहीं सिध्याइदिने पनि उल्लेख गरे । ‘इतिहास दोहोरिने बेला हुँदैछ। फेरि जनताको आशामा इतिहास दोहोरिन सक्छ। माओवादीहरू एक हुन सक्छन्, फेरि जनक्रान्ति हुन सक्छ’ उनको भनाइ थियो।