काठमाडौँ – कतारको राजधानी दोहामा अतिकम विकसित मुलुक (एलडीसी)को पाँचौँ सम्मेलन मार्च ५ देखी ९ सम्म भइरहेको छ ।
उक्त सम्मेलनमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा कार्यदल दोहामा रहेको छ ।
उक्त कार्यक्रममा कतार आएको बेलामा गैर आवासीय नेपाली सङ्घ कतारले उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको कार्यदललाई स्वागत कार्यक्रम राख्दै नेपाली समुदायका अनुभव, आफ्ना समस्या र मागहरू राखेको छ ।
नेपाल सरकारको प्रतिनिधित्व गर्दै कतार पुगेका मन्त्री श्रेष्ठसहितको सरकारी टोली समक्ष एनआरएनए उपाध्यक्ष आरके शर्माले विदेशबाट पठाएको ७० प्रतिशतभन्दा बढी रेमिट्यान्स अनुत्पादक क्षेत्रमा प्रयोग भइरहेकोले सही सदुपयोग गर्नु आवश्यकता रहेको बताएका छन् ।
उपाध्यक्ष शर्माले विगत लामो समयदेखि रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा सामूहिक लगानी गर्नका लागि सरकार समक्ष आग्रह गरे ।
उपाध्यक्ष शर्माले विदेशबाट पठाएको झण्डै ८ खर्व रेमिट्यान्सको १० प्रतिशत मात्र सामूहिक लगानीमार्फत जम्मा गर्न सकियो भने वार्षिक ८० अर्ब पुँजी सङ्कलन हुने र जुन नेपालको विकास बजेटको २५ प्रतिशत भन्दा धेरै हुने उक्त कार्यक्रममा बताए ।
यस्तै शर्माले विदेशबाट मतदान गर्ने प्रावधान, वैदेशिक रोजगारको बीमा रकमको वृद्धि, गैर आवासीय नागरिकता तथा गोर्खाजका समस्यालाई अविलम्ब सम्बोधन गरिनुपर्ने माग सरकारका उपप्रधानमन्त्री श्रेष्ठ समक्ष राखेका छन् ।