काठमाडौँ – नौ दलीय सत्ता गठबन्धनमा ‘पावर शेयरिङ’को विषयमा गृहकार्य सुरु भएको छ । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल अघि बढाएपछि प्रदेशसम्म प्याकेजमा भागबण्डा हुन लागेको हो ।
चुनावअघिको सत्ता गठबन्धन ब्युँताएर प्रधानमन्त्री प्रचण्डपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एक वर्ष प्रधानमन्त्री बन्ने सहमति बनेपछि प्रदेशको नेतृत्व पनि दाबी गर्ने भएको छ ।
नयाँ सत्ता समीकरण बनेपछि पावर शेयरिङको विषयमा छलफल भइरहेको नेकपा एसका नेता जीवनराम श्रेष्ठ बताए ।
नेकपा एसले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्नेबारे आफूहरू छलफलमा रहेको र सबै प्रदेश सरकारमा सहभागी हुने भन्दै उनले भने,‘अब नेतृत्वको विषयमा पनि पावर शेयरिङ गर्दा कुनै प्रदेशको नेतृत्व पाउन सक्छौँ । तर, हामीले यही चाहिन्छ भनेका छैनौँ ।’
यसअघि एमाले(माओवादी गठबन्धन हुँदा एमालेले ४, माओवादीले २ र जसपाले मधेस प्रदेश सरकारको नेतृत्व लिएका थिए । एमालेले नेतृत्व गरेको कोशी, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमध्ये काँग्रेसले सुदूरपश्चिम प्रदेशको नेतृत्व हात पारिसकेको छ ।
माओवादीले कर्णाली र बागमती प्रदेश सरकारको नेतृत्व लिएको छ । तर, नेकपा एसले अहिले कोशी वा बागमती प्रदेशमा दाबी गर्ने आन्तरिक तयारी गरेको एक नेताले बताए । एमालेले लिइरहेको गण्डकी र लुम्बिनी काँग्रेसले लिने लगभग पक्का छ ।
त्यसो हुँदा नेकपा एसले कोशी प्रदेशको नेतृत्व पाउने सम्भावना छ । त्यहाँ पार्टी सचिवसमेत रहेका राजेन्द्र राई प्रदेश संसदीय दलको नेता छन् । उनी यसअघि पनि मुख्यमन्त्री भएका थिए । पार्टीको शीर्ष नेता व्यवस्थापन गर्नुपर्ने भएकाले पनि नेकपा एसले कोशी प्रदेश नै रोज्न सक्ने नेताहरू बताउँछन् ।
९३ सदस्यीय कोसीको प्रदेशसभामा नेकपा एसका ४ सांसद छन् । पहिलो दल एमालेका ४०, काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपा र जसपाका एकाएक सांसद छन् ।
यस्तै बागमती प्रदेशमा अहिले माओवादीका शालिकराम जमरकट्टेल मुख्यमन्त्री छन् । यहाँ नेकपा एसका ७ जना सांसद छन् । माओवादीले एसलाई बागमती प्रदेश सरकारको नेतृत्व छाडे पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्री बन्नेछन् ।