धनगढीः बैतडीमा मृत फेला परेका अनुसन्धानका सूचक जीवन बुडालको शव आफन्तले बुझेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका २५ वर्षीय जीवन फागुन १३ गते मृत फेला परेका थिए। मृत फेला परेको ११ दिनपछि मंगलबार आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
फागुन १३ गते शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन गएका बुडाल राति ९ बजे मृत फेला परेका थिए। राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला पिकनिक गएका हुन्। बुडालको हत्या भएको भन्दै परिवारजनले ११ दिनसम्म शव बुझ्न मानेको थिएनन्।
परिवारका तर्फबाट बुडालसंगै पिकनिक गएका ११ जना र जिप चालकसहित १२ जना प्रहरी नियन्त्रणमा छन्। उनहिरुमामाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। यस्तै बुडाल मृत्यु प्रकरणमा प्रदेश मातहतको आरआइटीको टोलिले पनि अनुसन्धान गरिरहेको उनले बताए।
मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै आएका छन्।