काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीस ईश्वर खतिवडाको एकल इजलासले सो आदेश दिएको हो। संक्रमणकालीन न्याय प्रक्रिया लामो समयसम्म टुंगो नलागेको विषयमा प्रस्तुत रिट निवेदनबारे के कसो भएको हो, निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने लिखित जवाफ माग गरिएको छ।
माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र प्रधानमन्त्री स्वयम्ले वा कानून बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रतिवादीहरुले महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ।
सर्वोच्चले आन्तरिम आदेश जारी गर्नुपर्ने आवश्यकता नदेखिएको जनाएको छ ।
‘यस प्रकारका कानुनी प्रश्नहरुको निरुपण पूर्ण सुनुवाइको अवस्थामा नै गर्नु मनासिब देखिन्छ । अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न परेन,’ आदेशमा भनिएको छ।
इजलासले रिट निवेदनमा उठाइएको विषयको महत्व, गम्भीरता र संवेदनशीलताका कारण यसलाई छिटो छरितोरुपमा निरुपण गर्नुपर्ने भन्दै अग्राधिकार दिएको छ।
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/03/334883260_1223934011893069_1259304204374073245_n-450x600-1.jpg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/03/334911420_3314465592128635_4370841024690632809_n-2-450x600-1.jpg)