डोटी – स्ववियुको निर्वाचनका लागि डोटीका दुई सङ्गठनहरूबिच चुनावी तालमेल भएको छ ।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बीच जिल्लामा रहेका ६ वटै क्याम्पसमा मिलेर चुनाव लड्ने सहमति भएको हो ।
त्रिभुवन विश्वविद्यालयको सुदूरपश्चिमकै पुरानो आङ्गिक क्याम्पस डोटी बहुमुखी क्याम्पसमा अनेरास्वबियुले नेतृत्व गर्ने भएको छ । यस्तै खप्तड आदर्श क्याम्पस, देहीमाण्डौं र सुदूरपश्चिम विश्वविद्यालय मातहतको सिताराम क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गर्नेछ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केदार ज्योति पुञ्ज क्याम्पस बिपी नगर, दिपायल क्याम्पस दिपायल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतको सेती महाकाली क्याम्पस जोरायलमा अखिल क्रान्तिकारीले नेतृत्व गर्नेछ ।
सहमति अनुसार जुन क्याम्पसमा जुन सङ्गठनले सभापति पायो कोषाध्यक्ष पनि सोही सङ्गठनको हुनेछ । उपाध्यक्ष र सचिव फरक सङ्गठनबाट हुने र सङ्गठनको अवस्था अनुसार सहसचिव र सदस्यहरूको बाँडफाँड गरिएको छ ।