कैलाली – नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा कञ्चनपुर इन्चार्ज निरुदेबी पालले पार्टीले सुरु गरेको मिसन ग्रास रुट र स्ववियु निर्वाचनमा खटिन जन वर्गीय संगठनका प्रमुख तथा इञ्चार्जहरुलाई निर्देशन दिएकी छन् ।
आज कैलालीको घोडाघोडीमा सम्पन्न जनसङ्गठन समन्वय विभागको तेस्रो बैठकमा उनले मिसन ग्रास रुट र स्ववियु निर्वाचनमा खटिन निर्देशन दिएकी हुन् ।
‘पार्टीले अहिले मिसन ग्रास रुट चलाइरहेको छ तपाइहरू जो जहाँ खटिनु भएको छ सक्रियता पूर्वक खटिनु होला’ उनले भनिन् ‘आसन्न स्ववियु निर्वाचनमा पनि हाम्रा उम्मेदवारहरूलाई विजयी गराउने गरि लाग्नु होला ।’
विभिन्न जनसङ्गठनका अध्यक्ष तथा इन्चार्जहरूले ग्रास रुट र स्ववियु निर्वाचनका विषयमा जानकारी गराएका थिए ।
कैलालीमा ग्रास रुट अभियान राम्रो भइरहेको भन्दै अझै प्रभावकारी बनाउनु पर्ने पालको भनाइ थियो ।
एमाले कैलाली सचिव डेजी पाण्डेले पनि कैलालीमा मिसन ग्रास रुट राम्रो भइरहेको बताए ।
बैठकमा विद्यार्थी नेताहरूले कैलालीका १४ क्याम्पस मध्ये आधा बढिमा एमाले निकट विद्यार्थी संगठनले स्ववियु जित्ने दाबी गरेका थिए ।