धनगढी- पूर्व मन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य गणेश ठगुन्नाले मुलुक जुनसुकै बेला पनि चुनावमा जानसक्ने भएकाले तयारी अवस्थामा रहन आग्रह गरेका छन्।
नेकपा एमाले धनगढी नगर कमिटिले मंगलबार धनगढीमा आयोजना गरेको नगर स्तरीय जनसंगठनहरुको संयुक्त अभिमुखीकरण कार्यक्रममा बोल्दै ठगुन्नाले अगामी निर्वाचनबाट एमालेले बहुमत प्राप्त गर्ने बताउदै त्यसका लागि तयारी अवस्थामा रहन आग्रह गरेका हुन्।
‘अहिलेको संसदीय प्रणालीमा कुनै पार्टीको पनि बहुमत नभएका कारण मुलुक जुनसुकै बेला चुनावमा जानसक्छ। त्यसकारण तयारी अवस्थामा रहनुपर्छ,’ ठगुन्नाले भने, ‘एमाले एक्लैले बहुमत ल्याउनेगरी आजैदेखि तयारी गर्नुपर्छ।’ उनले विगतमा टुटफुट र मनमुटुवाका कारण राम्रो नतिजा ल्याउन नसकेको उल्लेख गर्दै एकताबद्ध भएर पार्टीपंक्ति अघि बढनुपर्ने आवश्यकता औल्याए।
मिसन ग्रासरुट अभियान अन्तरगत धनगढी उपमहानगरपालिकाको संयोजकका रुपमा खटाइएका ठगुन्नाले पहिलो चरणका कार्यक्रम सम्पन्न गरेको बताउदै अब दोस्रो चरणका कार्यक्रम सञ्चालनमा ल्याइने बताए।