काठमाडौं – पपुवान्युगिनी (पीएनजी)विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सतप्रतिशत नतिजा निकालेको छ । आजबाट त्यही पीएनजीविरुद्ध नेपालले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले युवा टोलीलाई मौका दिने भएको छ । पछिल्लो पटक खेलेको एकदिवसीय टिममा रहेका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, आसिफ शेख, विनोद भण्डारी, विवेककुमार यादव टिममा छैनन् । उनीहरुको स्थानमा अनिल शाह, सुशन भारी, देव खनाल र गुल्सन झालाई टिममा राखिएको छ । देब पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका हुन् भने अनिलले २०१८ पछि टोलीमा पुनरागमन गरेका छन् । सुशन र गुल्सन झा ओमानमा पनि टोलीमा थिए ।
बिहीबार राति परेको वर्षाका कारण बिहान ९ः३० बजेबाट हुने भनिएको खेल केहीबेर ढिला गरी सुरु हुनसक्छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को युनाइटेड अरब इमिरेट्स (यूएई)मा सम्पन्न त्रिदेशीय शृंखलामा पनि नेपालले पीएनजीविरुद्ध खेलेको थियो । नेपालले पीएनजीविरुद्धको दुबै खेल जित्न सफल भएको थियो । पहिलो खेलमा दुई विकेटको विजय हासिल गरेको नेपालले दोस्रो खेल सात विकेटले जितेको थियो ।
त्यसअघि नेपालले ओमान भ्रमणमा पनि आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्नुअघि पनि पीएनजीविरुद्ध दुई खेलको एकदिवसीय शृंखला खेलेको थियो । त्यतिबेला पनि दुबै खेलमा नेपालले विजयी नतिजा निकालेको थियो । ओमानमा नेपालले पहिलो खेल २ विकेटले जितेको थियो भने दोस्रो खेलमा १५१ रनको सहज जित निकाल्न सफल भएको थियो । नेपाल पीएनजीविरुद्ध विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनु अघि पनि नेपाल पीएनजीविरुद्ध खेलेको थियो । २०१८ मा जिम्बाब्वेमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफमा नेपालले जिम्बाव्वेलाई ६ विकेटले हराएको थियो ।
आज नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । पीएनजीले पहिलो पटक नेपाल भ्रमण गरेको हो । उसका लागि यो नेपालको माहोल नौलो हुनेछ । यूएईमा आईसीसी क्रिकेट विश्वकप लिग–२ खेलेर बुधबारमात्र नेपाल र पीएनजी नेपाल आइपुगेको हो ।
‘‘क्रिकेट माहोलका हिसाबले नेपाल विश्वकै उत्कृष्ट देशमध्येको हो । त्यसैले पीएनजीलाई यहाँ खेल्न नयाँ अनुभव हुनेछ,’’ नेपालका कप्तान सन्दीप लामिछानेले भनेका छन् ।
सोमबारदेखि त्रिवि मैदानमै नेपाल, पीएनजी र मलेसिया सम्मिलित ट्वानटी–२० अन्तर्राष्ट्रिय शृंखला हुनेछ । ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाममा हरेक टोलीले एक अर्कासँग दुईदुई खेल खेल्नेछन् ।
टिकट दर १५०
नेपाल क्रिकेट संघ क्यानले यस एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि कमर्सियल एन्ड ब्राण्डिङ राइट्स सन्बि होल्डिङ्स प्रालिलाई दिएको थियो । सन्बि होल्डिङ्सले एकदिवसय अन्तर्राष्ट्रिय शृंखलाका लागि टिकट दर १५० रुपैयाँ तोकेको छ । सन्वि होल्डिङ्सका अनुसार टिकट आइएमई पेमार्फत लिन सकिनेछ । त्यस्तै त्रिवि क्रिकेट मैदानमै पनि टिकद लिन सकिने सन्बि होल्डिङ्सले जनाएको छ ।
ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाका लागि भने अझै टिकट रकम तोकिएको छैन । शनिबारसम्म टिकट दर तय हुने सन्बि होल्डिङ्सले जनाएको छ ।
नपाली टिमः
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल शाह, बिक्रम सोब, सुशन भारी, रोहितकुमार पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की ।