काठमाडौँ- भारतमा पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेको छ । भारतीय तेल मार्केटिङ कम्पनीहरुले शुक्रबार फेरि मूल्य बढाएका छन् । दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८० पैसाले बढेको छ ।
छिल्लो चार दिनमा पेट्रोल र डिजेलको मूल्य भारु २.४० ले बढेको छ । यो बढेको मूल्यसँगै भारतको राजधानी दिल्लीमा पेट्रोलको भाउ प्रतिलिट भारु ९७.८१ र डिजेलको भारु ८९.०७ पुगेको छ ।
मुम्बईमा पेट्रोलको प्रतिलिटर ८४ पैसाले बढेको छ र योसँगै नयाँ मूल्य भारु ११२.५१ प्रतिलिटर भएको छ । चेन्नईमा पनि भाउ ७६ पैसाले बढेर भारु १०३.६७ प्रतिलिटर पुगेको छ ।
हरेक १५/१५ दिनमा भारतले पठाएको मूल्य अनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने गरेको छ । नेपाल आयल निगमले पछिल्लो पटक २ चैतमा पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५/ ५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो । यस वृद्धि अनुसार हाल पेट्रोल एक लिटरको मूल्य १५५ रुपैयाँ पर्छ भने डिजल र मट्टीतेलको १३८ रुपैयाँ पर्छ ।
यसै महिना अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्य अत्यधिक बढेर १३ वर्षयताकै महँगो रेकर्ड कायम गरेको थियो । यद्यपि अहिले १४० डलर प्रतिब्यारेल मूल्यमा केही कमी आएर ११८.५९ डलर प्रतिब्यारेल कायम छ ।
नेपालमा भारतीय आयल कर्पोरेसनले पठाउने मूल्य सूची अनुसार महिनामा दुई पटक स्वचालित प्रणाली अनुसार मूल्य घटबढ हुँदै आएको छ । रुस- युक्रेन युद्धपछि लगातार मूल्यवृद्धि हुँदा उपभोक्ताहरु मर्कामा परेका छन् ।