काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले जातीय छुवाछूत तथा भेद्भावमुक्त वातावरणको सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
जातीय भेद्भाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा जातीय विभेदका सबै घटनाका सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ ।
‘समाजमा दैनिक जसो घट्ने जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनालाई निर्मूल गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दछ । समाजमा कायम रहेको विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन आयोग सबै राजनीतिक दल, गैरसरकारी सङ्घ संस्था तथा नागरिकलाई आयोग अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
संवैधानिक तथा कानुनी व्यवस्थाका बाबजुद कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अझै पनि जातीय विभेदको स्थिति कायमै रहेको र दोषीलाई कानुन बमोजिम समयमै कारबाही हुन नसकेको स्थिति छ ।