धनगढी : हालै बढुवा भएका विवादित एआइजी श्यामलाल ज्ञवालीले फूली थापेका छन्। आज (बुधवार) श्यामलालले आइजीपी धिरजप्रताप सिंहबाट फूली (दर्ज्यानी चिन्ह) थापेका हुन्।
यसअघि कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा कार्यरत डिआइजी श्यामलालको सोमवार बढुवा भएको थियो। बढुवा भएपछि विवादित बनेका श्यामलाले विवादकै बीच एआइजीको फूली थापेका हुन्। यता श्यामलालविरुद्ध अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको कार्यालयले भने छानबिन गर्न भन्दै गृहमन्त्रालयलाई पत्राचार गरेको छ। इन्सपेक्टरमै डिस्क्वालिफाइड हुनुपर्ने ज्ञवालीविरुद्ध उजुरी परेको र सो उजुरीमा छानबिन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिदै अख्तियारले गृहलाई पत्राचार गरेको हो। यस्तै आजै प्रहरी प्रधान कार्यालयमा पनि श्यामलाल माथी कारबाही गर्न भन्दै पत्र पठाइएको छ।
यस्तो छ गृहलाई गरिएको पत्राचार
प्रस्तुत विषयमा आयोगमा मिति २०७१/११/१४ मा दायर हुन आएको उ.द.नं. ०४३७४७ को नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले नागरिकताको जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याई जागिर खाएको भन्नेसमेत व्यहोराको उजुरी पाना ४ (चार) यसैसाथ संलग्न छ ।
उक्त उजुरीका सम्बन्धमा प्रारम्भिक छानबिनका क्रममा निज श्यामलाल ज्ञवालीको जिल्ला प्रशासन कार्यालय, प्यूठानबाट मिति २०४१/१२/२१ मा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्रमा उमेर १७ वर्ष भनी उल्लेख भएको, जसबाट जन्ममिति गणना गर्दा निजको जन्ममिति २०१४/१२/२१ हुन आउने देखिन्छ । प्रहरी नियमावाली, २०४९ (दोस्रो संशोधनसहित) को नियम १३ को उपनियम (१) मा प्रहरी निरीक्षक पदको लागि हुने खुल्ला प्रतियोगितामा छनौट हुने सालको बैशाख १ गते २० बर्ष उमेर पुगेको र २५ बर्ष ननाघेको व्यक्तिहरूले भाग लिन सक्नेछन् भन्ने व्यवस्था भएको देखिन्छ । मिति २०५०/०८/०१ मा गोरखापत्रमा प्रकाशित प्रहरी निरीक्षक पदको लागि भएको दरखास्त आह्वानमा समेत छनौट हुने सालको बैशाख १ गते २० बर्ष उमेर पुगेको, २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरेको देखिन्छ ।
निज श्यामलाल ज्ञवालीको उमेर निजको नेपाली नागरिकताको प्रमाणपत्रबमोजिम उक्त छनौट हुने साल (बि.सं. २०५०) को बैशाख १ गते २५ बर्ष ९ दिन हुन आउने देखिन्छ । अतः यस सम्बन्धमा के, कसो भएको हो ? सो सम्बन्धमा तहाँ मन्त्रालयबाट यथाशिघ्र छानबिन गरी प्रस्तुत पत्र प्राप्त भएको मितिले १ (एक) महिनाभित्र तहाँ मन्त्रालयको स्पष्ट राय सहितको छानबिन प्रतिवेदन र सोलाई पुष्टि गर्ने सम्बद्ध कागजातहरू आयोगको महाशाखा नं. ३ मा उपलब्ध गराई छानबिन कार्यमा सहयोग गरिदिनुहुन निर्णयानुसार अनुरोध छ ।
यसअघि अख्तियारको आन्तरिक छानविनमा ज्ञवालीले २५ वर्ष १० दिनमा इन्सपेक्टरमा भर्ना भएको देखिएको थियो। जबकी नेपाल प्रहरीको प्रहरी नियमावलीअनुसार इन्सपेक्टरमा भर्ना हुन २१ वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्छ।उननलाई एआइजी बनाउन कृष्ण बहादुर महरा, व्यापारी रवी केसी लगायतले प्रेसर गरेको समेत स्रोतको दाबी छ। उनी पावर लगाएरै भएपनी नेपाल प्रहरीको नेतृत्वमा पुग्न मरिहत्ते गरिरहेको देखिन्छन्।
श्यामलालले उमेर ढाँटेर बढुवा भएको पनि खुलेको छ। नागरिकतामा ज्ञवालीको जन्ममिति २०२४ चैत २१ रहेको छ। उनको जन्ममिति ५ महिना ५ दिन फरक रहेको पाइएको छ। अर्थात् उनले पनि उमेर ढाँटेर प्रहरी सेवामा प्रवेश गरेको उनको नागरिकताबाट पुष्टि हुन्छ। ज्ञवालीको सिटरोल र शैक्षिक योग्यतामा भने २०२५ भदौ २६ रहेको छ। यसअघि अशोक सिंहले उमेर ढाँटेर बढुवा भएको र सेवा प्रवेश गर्दा पनि उमेर हद नाघेपछि गरेको बिषय सार्वजनिक भएपछि राजीनामा दिएका थिए। त्यसपछि श्यामलाललाई पनि कारबाही हुनुपर्नेमा डीआइजीबाट बढुवा गरेर सरकारले झन पुरस्कार दिएको छ।
प्रहरी नियमावली, २०७१ मा सेवा प्रवेश गर्दा पेश गरेको नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण (सिटरोल)मा जन्ममिति, बर्ष, महिना र गते खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिको आधारमा अवकाश हुने ब्यवस्था छ। प्रहरी नियमावली अनुसार श्यामलाल ज्ञवालीको २०७९ जेठ २१ मा ५५ बर्ष पुगेकाले उनीहरु एसएसपीबाटै अवकाश हुनुपर्ने देखिन्छ। तर उनीहरुको नागरिकता नै भेरिफाई नगरी तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षताको बढुवा समितिले २०७९ असार ८ मा डीआईजीमा बढुवा सिफारिस गरेको थियो। ज्ञवालीविरुद्ध कैलालीका शेरबहादुर चन्दले उमेरबारे अनुसन्धान गर्न माग गर्दै आयोगमा उजुरी दिएका थिए। उनले डीआईजी बढुवा नै बदर हुनुपर्ने माग पनि गरेका थिए।