-राम धामी
डडेल्धुरा- डडेल्धुराका किसानहरुले पालेका पशु चौपायामा ‘लुम्पी स्किन डिजिज भाइरल’ रोगको प्रकोप देखिएको छ । जिल्लाको अमरगढी नगरपालिका, भागेश्वर, आलिताल गाउँपालिका तथा परशुराम नगरपालिकाका अधिकांश ठाउँमा किसानले पालेका पशु चौपायामा लम्पी स्कीन रोगको प्रकोप देखिएको हो ।
जिल्लाको गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा भने फाट्टफुट्ट रुपमा मात्रै लम्पी स्कीन रोगको प्रकोप देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डडेल्धुराले जनाएको छ ।
पशु चौपायामा लम्पी स्कीन रोग देखा परेपछि किसानहरु चिन्तित भएका छन । यँहाका किसानहरुले पालेको गाई, गोरु, भैंसीमा लुम्पी स्किन डिजिज भाइरल रोगको रोग देखा परेको आलितालका किसान जानकी भट्टले बताइन । लुम्पी स्किन डिजिज भाइरल रोगका कारण पशुहरु थलिन थालेपछि व्यवसायीक रुपमा उन्नत जर्सी गाईपालन गरिरहेका किसानहरुले लाखौं रकमको नोक्सानी ब्यहोर्नु परिरहेको आलितालको घरेलुबजारस्थित मडै एग्रोभेटका सञ्चालक जगनसिँह मडैले बताए । जिल्लाको भित्रिमधेस क्षेत्र व्यवसायीक रुपमा उन्नत जर्सी गाईपालनका लागि अग्रणी मानिन्छ ।
धेरै पशुहरुमा लुम्पी स्किन डिजिज भाइरल रोगको संक्रमण देखिएको र धमाधम बिरामी पर्न थालेकाले दुध उत्पादन घटेको स्थानीय किसानहरु बताउछन । लम्पी स्कीन रोग लागेपछि पशुहरुमा उच्च ज्वरो आउने, ५० देखि ८० प्रतिशत दुध उत्पादन घट्ने, पशुहरुको शरीरको तल्लो भाग सुन्निने, गिर्खाहरु देखिने, व्याउने पशुहरु तुहिने तथा बाझोपन देखिने समस्या आउने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डडेल्धुराका प्रमुख देवराज भट्टल जानकारी दिए ।
उनका अनुसार लम्पी स्कीन रोगको प्रकोप देखिएका स्थानहरुमा पशुहरुलाई आकस्मिक उपचारका लागि एन्टीबायोटिक औषधिहरुबाट उपचार भइरहेको छ । केन्द्र प्रमुख भट्टसहितको पशु चिकित्सक तथा प्रावधिकहरुको टोलीले गाउँगाउँमा पुगेर उपचार सेवा प्रदान गरिरहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डडेल्धुराले जनाएको छ । डडेल्धुरामा मात्रै नभई छिमेकी बैतडी जिल्लाको तल्लो स्वराड क्षेत्र, पुर्चौडी क्षेत्र र च्वागड क्षेत्रका पशुहरुमा पनि लम्पी स्कीन रोगको प्रकोप देखिएको छ ।
बैतडीको शिवनाथ गाउँपालिकाका पशु चौपायामा लुम्पी ‘लुम्पी स्किन डिजिज भाइरल’ रोग फैलिएको गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउँदले जानकारी दिए ।
गाउँपालिकाका बिभिन्न बस्तीहरुका साथै तल्लो स्वराड क्षेत्रमा गाई गोरुमा रोगको सङ्क्रमण फैलिएको उनले बताए । रोग नियन्त्रण गर्न नेपालमा कुनै खोप नभएका कारण सामान्य प्राथमिक उपचार थालिए पनि रोग नियन्त्रण हुन नसकेको उपचारमा संलग्न पशु चिकित्सकहरु बताउछन्
लुम्पी स्किन डिजिज भाइरल रोगको प्रकोप लामखट्टुे, झिंगा तथा किर्नाको टोकाइबाट हुने गरेकोले संक्रमण फैलन नदिन लामखुट्टे, झिंगा र किर्नाको टोकाईबाट पशुहरुलाई बचाउनु पर्ने चिकीत्सकहरुको सुझाव छ । यसको खोप समेत नेपालमा उपलब्ध नभएका पशु चिकित्सकहरु बताउछन् । बैतडीमा कुनै खोप नभएकोले नियन्त्रणका लागि कठिनाई भइरहेको पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका पशु चिकित्सक डा. विशाल पाठकले बताए ।
डा. पाठकले लुम्पी भाइरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको जानकारी दिए । त्यसपछि चितवनमा देखा परेको लुम्पी स्किन डिजिज बैतडीको शिवनाथ गाउँपालिकाबाट गतसातदेखि शुरु भएको हो । रोग नियन्त्रण गर्न किसानले भुसुना, कीरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डडेल्धुराका प्रमुख भट्टले बताए ।