काठमाडौँ – नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले मिटर ब्याज पीडितहरूलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले राज्यले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने, न्याय माग्न पटक पटक काठमाडौं आउनुपर्ने बाध्यता रहेको भन्दै राज्यले नै छलकपट गरेको बताएका हुन् ।
उनले भने, ‘नागरिक सधैँ दुखमा पर्ने, आफ्नो जायज माग राख्न पनि काठमाडौँ धाउनुपर्ने, राज्य टुलुटुलु हेरेर बस्ने, काठमाडौँ आएपछि सम्झौता गर्ने तर कार्यान्वयन नहुने फेरि न्याय माग्दै पटक पटक धाइरहनुपर्ने । कुनै जाली छट्टुले तानाबाना गरेको छलकपट गरेको चक्रजस्तोमा नागरिक कतिन्जेल परिरहने रु जुनसुकै तहमा बिक्री गरेको भए पनि जमिनमाथि किसानको स्वामित्व कायम गर्ने, फर्जी तमसुकको आधारमा हडपिएको जमिन फिर्ता ल्याउने लगायत किसानसँग ५ बुँदे सहमति भएको थियो, अहिले कानुनको मस्यौदा गृहमा अड्किएको छ भन्ने सुन्नमा आएको छ । कानुनको मस्यौदा महिनौँ थन्किदा साहु महाजनले छलकपट गरेर किसानको जग्गा लिलाम गरिरहेका छन् । सरकार आफैँले सुकुम्वासी उत्पादन गरिरहेको छ ।’
सिरहा र महोत्तरीका मिटर ब्याज पीडितहरू ११ दिन पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आएका छन् । रौतहटबाट अर्को समूह पनि काठमाडौं आउने तयारीमा रहेको आफूले जानकारी पाएको सांसद पौडेलले बताए ।
यसअघि नवलपरासीका मिटर ब्याज पीडितले पटक पटक ६१ दिन धर्नामा बसेपछि सरकारले बनाएको कार्यदलले दिएको सुझाव पनि कार्यान्वयन नभएको सांसद पौडेलले बताए । उक्त सुझाव कार्यदलले मिटर ब्याजलाई गम्भीर आर्थिक अपराधको रूपमा स्वीकार गरे पनि त्यस अनुसार कानुन नबनाउँदा साहुकारहरूले किसानको जग्गा धमाधम हडपिरहेको बताए ।